१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने बेदप्रकाश मण्डललाई पुस १५ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश इश्वरमणी ओझाको इजलासले मण्डललाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
जिल्ला अदालतको आदेशमा मण्डल ०७६ असार १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा रहेको प्रहरीले जनाएको छ ।
रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको जनचेतना उच्च मावि, तेरहौतामा केटा साथी कञ्चनरुप नपा–११ ठेलियाका १८ वर्षीय भगानन्द चौधरीले बोलाएर गएकी बालिकालाई ६ जना आरोपितले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ ५ गते उजुरी दिएकी थिइन् ।
कक्षा ११ को परीक्षा दिन पीडित बालिका रुपनी गाउँपालिका–६ स्थित आफन्तको घरमा बसेकी थिइन् ।
राति ७ बजेदेखि १० बजेसम्म आरोपितहरुले सामूहिक बलात्कार गरेपछि बेहोस भएकी पीडित राति ११ बजे घर पुगेको पीडित परिवारले जनाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ जेठ ५ गते भएको थियो ।
प्रहरीले आरोपितमध्ये बेदप्रकाश मण्डललाई ०७६ जेठ ५ गते गिरफ्तार गरेको थियो । गिरफ्तार आरोपितले दिएको बयानका आधारमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले रुपनी गाउँपलिका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २५ वर्षीय देबनारायण मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय बिद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डलविरुद्ध ०७६ जेठ ३० गते बलात्कारको अभियोजन पत्र दायर गरिएको थियो । अन्य आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।