बर्दिबासमा ६ वर्षीया गुलबसा खातुनको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको स्थितिलाई साम्य पार्न मङ्सिर १० गते बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्ने लगायतका चार बुँदे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो ।
सर्वदलीय बैठकले झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न माग गर्ने, न्यौपानेको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने र प्रदर्शनमा घाइते भएकाहरूको उपचार खर्च र राहतका लागि पहल गर्ने निर्णय गरेको छ ।
बालिका हत्यापछि उत्पन्न तनावपूर्ण स्थितिका कारण मङ्सिर १० गते बिहानैदेखि निषेधाज्ञा जारी भए पनि बर्दिबासमा स्थानीयले प्रदर्शन गरिरहेका थिए ।
मङ्सिर ७ गतेदेखि हराएकी बालिकाको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।
हत्या आरोपमा प्रहरीले गौशाला नपा–५ घर भई बर्दिवास नपा–१४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई गिरफ्तार गरिसकेको छ ।
हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आगजनी तथा तोडफोड गरेका छन् । घर पूर्ण रुपमा क्षति भएको छ । राजमार्ग क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।