जिल्लाका भूकम्प पीडितहरूले मौन जुलुस निकालेका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले मौन जुलुस प्रदर्शन गरेको बताएका छन् ।
सरकारले पुनर्निर्माण र पुनर्स्थापनामा चासो नदिएको उनीहरूको आरोप छ । पहिलो किस्ताको अनुदान रकम पाएका भूकम्प पीडितहरूले दोस्रो किस्ताको रकम अबिलम्ब निकासा गर्न माग गरेका छन् । भूकम्प पछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरू गाउँमा नबस्दा घर निर्माण थाल्न नपाएको पनि उनीहरूको गुनासो छ ।
‘दोस्रो किस्ताको रकम अबिलम्ब निकासा गर्नुपर्यो ।’-गोरखा नपा-७ की गोमा थापा मगरले भनिन् । सुत्केरी, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने मानव अधिकार एलाइन्सका अध्यक्ष ऋषि खनालले बताए ।
गोरखा सदरमुकामको चाइनिज धारादेखि हरमटारी चोकसम्म र्याली प्रदर्शन गरिएको थियो । र्यालीमा सहभागीहरूले गुनासो फारमको सुनुवाइ छिटो गर, केरौँजालगायत पहिरो गएको बस्तीलाई स्थानान्तरण र पुनर्स्थापना गर, बाँकी अनुदान एकमुष्ट निकासा गरलगायतका विषयवस्तु उल्लेख गरिएका प्ले कार्ड बोकेका थिए ।
