कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सीको आरोपमा कात्तिक ११ गते ४५ वर्षीय छोरा रामअवतार साह सोनारले कुटपिट गरेकाले कात्तिक १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते हुनुभएकी सुदामा देवीलाई उपचारको लागि धनुषा जिल्लाको जनकपुर स्थित धनुषा अस्पतालमा लगे पनि डाक्टरले बाँच्ने आश नभएको भनेपछि घर नै लिएर आएकोमा कात्तिक १५ गते मृत्यु भएको मृतककी छोरी जानकीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
केही दिनदेखि आरोपित रामअवतारकी बुहारी मनिषा बिरामी भएको र आमा सुदामालाई ‘ठिक पारी देउ’ भन्दै कात्तिक ११ गते लछारपछार गरी कुटपिट गरेको पीडित सुदामाकी छोरी जानकीले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई कात्तिक १३ गते नै गिरफ्तार गरेको र पीडितको मृत्युपछि कर्तव्य ज्यानमा समेत उजुरी परेकाले सोही अनुसार कारवाही प्रकृया अगाडि बढाउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा कात्तिक १६ गते गर्ने तयारी भइरहेको डिएसपी जैसवारले बताउनु भयो ।