बसबरीया गाउँपालिका–५ का २५ वर्षीय सुनिल यादवलाई कातिक २ गते इलाका प्रहरी कार्यालयका डिएसपी उद्धबसिंह भाटले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
तर, जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेको पीडितका ४६ वर्षीय बाबु भागिरथ रायले जानकारी दिनु भयो ।
बसवरीया गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय हिरपुरमा सामान्य झै–झगडासम्बन्धी दुवै पक्षका प्रतिनिधि, समाजका अग्रज व्यक्ति तथा बसवरीया गाउँपालिका–४ का वडा अध्यक्ष कमल साह, वडा नं. ५ का वडा अध्यक्ष सरोज यादव लगायत इलाका प्रहरी कार्यालय हिरापुरका सई दिपेन्द्रकुमार मलको रोहवरमा छलफल सकिएको थियो ।
निर्णयमा दुवै पक्षकाले सहिछाप गरेलगत्तै इलाका प्रहरी कार्यालयका बरहथवाका डिएसपी उद्धबसिंह भाट आएर सुनिलकुमार यादव लगायतलाई प्रहरी कार्यालय भित्र लगी लाती, बुट, लठ्ठी तथा प्लास्टिकको पाइपले कुटपिट गरी घाइते बनाएको बसवरिया गाउँपालिका–५ का वडा अध्यक्ष ३६ वर्षीय सरोज यादवले बताउनु भयो ।
इलाका प्रहरी कार्यालयका सई दिपेन्द्रकुमार मलले इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी भाटलाई जानकारी गराएपछि डिएसपी आएर कोठा भित्र लगेर आफूलाई कुटपिट गर्दा दाहिने हात भाँचिएको र दुवै गोडामा कुटपिट गरेको पीडित सुनिलले बताउनु भयो ।
पीडित सुनिलको हातको दायाँपट्टी र गोडाको दायाँबायाँ, अगाडिपछाडीको छाला च्यातिएकोे छ । उनलाई बरहथवाका सामुदायिक अस्पतालमा उपचार गरिए पश्चात कात्तिक ५ गते नै थप उपचारका लागी जनकपुर रेफर गरिएको पीडितका बुबा भागिरथ रायले बताउनु भयो ।
पीडित सुनिललाई कुटपिट नगरेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी भाटले बताउनु भयो ।