१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–१ का २६ वर्षीय बदे भनिने ब्रदेश भण्डारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
असोज २२ गते राति १ बजे मादक पदार्थ सेवन गरेका आरोपित भण्डारी पीडित बालिकाको घरमा प्रवेश गरेर यौन दुर्व्यवहार गर्न खोज्दा देखेपछि प्रतिकार गर्दा आरोपितले कुटपिट गरी घाइते बनाएको पीडित बालिकाकी २२ वर्षीया दिदीले बताउनु भयो ।
प्रतिकारका क्रममा घाइते महिलाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । पीडित बालिकाले असोज २४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दिएको उजुरीको आधारमा आरोपित भण्डारीलाई गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिपक रायले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएपछि आरोपित भण्डारीका दाजु निर्गुण भण्डारीले पीडितका बुवा र दिदीलाई प्रादेशिक अस्पताल जनकपुरमा कात्तिक ३ गते उजुरी फिर्ता लिन दबाब दिँदै, उजुरी फिर्ता नलिए मार्ने धम्की दिएको पीडित परिवारले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २३ गते नै प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।