INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बस भित्र सामूहिक बलात्कार गरेको घटनाका फरार आरोपित झापा जिल्लाको चन्द्रगढी पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय दिपेश राईलाई प्रहरीले झापा भद्रपुर नगरपालिका–८ बाट असोज २२ गते गिरफ्तार गरी २३ गते भक्तपुर ल्याएर सार्वजनिक गरेको  छ ।

आरोपित राईले पीडित बालिकालाई असोज १६ गते बिहान ११ बजे लठ्याउने औषधि हालेको पानी खान दिई काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायक ल्याएर नम्बर नखुलेको बसमा राखेर १७ गते बिहान १० बजेसम्म पटक/पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आरोपित राईले १७ गते बिहान १० बजे आफ्ना दुई जना साथीलाई बालिकालाई जिम्मा लगाएर आफू फरार भएका थिए ।

राईका साथीले पीडित बालिकालाई भक्तपुर नगरापालिका–८ लिवालीस्थित तवियाखुसी खोलाको किनारामा पार्किङ गरेको बा. ३ ख. २६१२ नं. को बसमा १७ गते बिहान ११ बजेदेखि राती ९ः३० बजेसम्म पटक/पटक सामूहिक बलात्कार गरेको आरोप छ ।

सामूहिक बलात्कार आरोपमा असोज १७ गते राती प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर  भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङका घर भएका सूर्य श्रेष्ठलाई गिरफ्तार गरी पीडित बालिकाको बसबाट उद्धार गरेको एसपी थापाले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले असोज २३ गते पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार घटनाका तीनै जनालाई सार्वजनिक गरेको छ ।

पीडित बालिकाले असोज १८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएकी छन् भने बालिकाको असोज १८ गते नै काठमाडौँ मेडिकल कलेज दुवाकोटमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित बालिकालाई भने मानव कल्याण समाजले संरक्षणमा राखेको छ ।

अन्य

भिडियो