१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत रानामगरलाई असोज २२ गते ११ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ मङ्सिर १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको मङ्सिर ३० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १ गते गरिएको थियो ।