अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको आरोपमा प्रहरीले ६५ वर्षीय ससुरा फरमुद मियाँलाई असोज २१ गते गिरफ्तार गरेको छ ।
आरोपित फरमुद, पीडितकी ६० वर्षीया सासू जहरुन खातुन, आरोपितकीे २७ वर्षीया छोरी अजमेरुल खातुन र ३० वर्षीय ज्वाइँ अन्सारुल मियाँले पछिल्लो पटक असोज १४ गते दाइजो माग्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असोज २० गते उजुरी दिनु भएको छ ।
फरमुदका छोरा आजाद अलीसँग सोही गाउँकी पीडितले प्रेम विवाह गरी इस्लाम धर्मअनुसार ०७६ मङ्सिरमा निकाह समेत गरेपछि आरोपितहरूले दाइजो मागेर यातना दिन थालेको भनी पीडितले बताएको ५ नं वडा कार्यालयकी सचिव आशा चौधरीले जानकारी दिनु भयो ।
आरोपितहरूले पीडितका पति आजादलाई घरबाट भगाएर सम्पर्क हुनबाट समेत वञ्चित गरेको पीडितको भनाइ छ ।
आरोपित फरमुदलाई गिरफ्तार गरी असोज २१ गते उजुरी दर्ता गरेको र अन्य आरोपितहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।
डिएसपी सिंहले “मुलुकी अपराध (संहिता) ऐन, २०७४” को दफा १७४ बमोजिम कारवाही गरिने जानकारी दिनु भयो ।
सो दफाको उपदफा ३ मा कसैले विवाह गरी सकेपछि दाइजो माग गर्न वा दाइजो नदिएको कारणले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न नपाइने व्यवस्था स्पष्ट गरिएको छ ।
त्यस्तो कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।