कोभिड सङ्क्रमितको मत्युदर घटाउन प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन बाँकेका अधिकारकर्मी र पत्रकारहरूले विज्ञप्ती मार्फत सरोकारवालाहरूको आग्रह गरेका छन् ।
नेपाल बार एशोसिएशन, इन्सेक, फियान नेपाल लगायत सङ्घ संस्थाले असोज २१ गते प्रेस विज्ञप्ती मार्फत आग्रह गरेका हुन् ।
प्रेस विज्ञप्तीमा शिघ्र पीसीआर रिर्पोट दिने ब्यवस्था मिलाउनु पर्ने, मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन तथा खर्च पारदर्शी हुनुपर्ने, पीसीआर रिर्पोट ढिला आउने गरेका कारणले समयमै उपचार पाउन नसक्दा सङ्क्रमित बिरामीको मृत्यु दर बढेको पाइएकाले रिर्पोट छिटो आउने व्यवस्था मिलाउनु पर्ने, आम नागरिकको स्वास्थ्यको अधिकारलाई मध्यनजर राख्दै सर्वोच्च अदालतले पीसीआर रिर्पोट निशुल्क गराउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको सन्दर्भमा निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।
भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका मध्ये शुल्क तिरेकाको शिघ्र रिर्पोट आउने र निशुल्क गराएकाहरूको ढिला रिपोर्ट आउने गरेको पाइएकाले लक्षण सहितका सङ्क्रमितको उपचारमा ढिलाई हुँदा हुनसक्ने मृत्युदर रोक्न सम्बन्धित निकायको ध्यान जानुपर्ने प्रेस विज्ञप्ती उल्लेख छ ।
मृत्यु हुनाका कारण पहिल्याई मृत्युदर घटाउन आवश्यक कदम चाल्नु पर्ने, आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको प्रभावकारी स्वास्थ्य सेवामा ध्यान पुर्याउन, आइसोलेशनमा रहेका बिरामीहरूको आवश्यकता, चाहना र रुचि अनुसार गम्भीर बिरामीहरूका लागि स्वास्थ्यबर्धक पोषिलो र रुचिकर गुणस्तरिय खानाको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
पीसीआर परीक्षणमा आम नागरिकको सहज पहुँच पुग्न नसकेको र गराएकाहरूको रिर्पोट आउन ढिलाई हुँदा गम्भीर प्रकृतिका बिरामीले तत्काल उपचार पाउन नसकेको, होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाका बारेमा ध्यान पुग्न नसकेको, मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन नभएको कारणले पनि कोरोना सङ्क्रमित बिरामीलाई समस्या परेको र समयमा प्रभावकारी स्वास्थ्य सेवा नपाएका कारणले बिरामीको मृत्युसम्म भएको भन्ने जनगुनासहरू आएकाले सरोकारवालाहरूले ध्यान पुर्याउन तथा मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन संचालनको ब्यवस्था मिलाउन माग गरेको छ ।
मानव अधिकार आयोगका चन्द्रकान्त चापागाई, नेपाल बार एशोसिएशन उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश, प्रमुख भोला महत, अधिकारकर्मीहरू वसन्त गौतम, सुरेश कुमार गौतम फियान, नमस्कार शाह, प्रभात कुमार ठकुरी, बल बहादुर चन्द्र प्रकाश उपाध्याय, पुर्ण ढकाल, पत्रकार दामोदर भण्डारीद्वारा हस्ताक्षर विज्ञप्तीमा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका सदस्यहरूकाबिचमा आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सङ्क्रमण रोकथामका कार्य प्रभावकारी हुन नसकेको भन्ने जनगुनासो आएकाले आवश्यक समन्वय र सहकार्यमा जोड दिन भनिएको छ ।