जिल्ला अस्पताल,दार्चुलाबाट समान्य स्वास्थ्य सेवासमेत प्रवाह हुँन नसकेपछि आफूहरु समस्यामा परेको स्थानीयहरुले गुनासो गरेका छन् ।
चैत अन्तिम सातादेखि जिल्ला अस्पताल, दार्चुलामा रहेका तीन ओटै एक्सरे मेसिनहरु सञ्चालनमा नआएपछि आफूहरुको चेकजाँच र उपचारमा समस्या भएको स्थानीयले गुनासो गरेका हुन् ।
जिल्ला अस्पतालमा रहेका एक्सरे मेसिनहरु विग्रिदा समान्य चेकजाँच र उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको स्थानीय भोजराज जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्लाकै मुख्य अस्पतालमा एक्सरे मेसिन नै सञ्चालनमा छैन् । उपचारका लागि आउने विरामीले एक्सरे गराउन अन्य जिल्ला जानु पर्ने बाध्यता छ ।’
जिल्ला अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई प्रायजसो उपचारका लागि अन्य जिल्ला रिफर गर्ने गरेको स्थानीय मानबहादुर ठगुन्नाले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘अस्पताल नाम मात्रै छ । अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउण्ड मेसिनले काम गर्दैनन् । हात खुट्टा भाचिएका र फेक्चर भएका बिरामीहरु उपचार गर्न आएमा कुनै उपचार पाउँदैनन् । उनीहरुलाई तत्काल रिफर गरिन्छ ।’
अस्पतालले भरपर्दो सेवा दिन नसक्दा बिरामीले समयमै राम्रो उपचार पाउन नसकेको महाकाली नगरपालिकाका किशोर भट्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘एक्सरे मेसिन राम्रो छैन् । बिरामीलाई रिफर गर्ने कार्य अन्तिममा आएर गरिन्छ । यसले गर्दा बिरामीहरुलाई थप समस्या हुने गरेको छ ।’
कोभिड–१९ का कारण एक्सरे मेसिनको समान देश बाहिरबाट ल्याउन नसक्दा मर्मतमै समस्या भएको जिल्ला अस्पालका रेडियोग्राफर मन्दिल कुँवरले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले एउटा मेसिनले कहिले काहि काम गर्छ । तर, छिट्टै तात्ने र स्पष्ट रिपोर्ट देखाउदैन् ।’
एक्सरे मेसिनको समान धनगढी काठमाडौँमा उपलब्ध नहुँन सकेपछि समस्या उत्पन्न भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिंह धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मर्मतका लागि समान पाउन सकिएको छैन् । प्राविधिक जनशक्ति पनि उपलब्ध नहुँदा मर्मतमा ढिलाई भएको छ । जसले गर्दा उपचारमा आउने बिरामीहरुलाई सेवा दिन समस्या भएको हो । यदपी उपकरण मर्मतका लागि धनगढी पठाइएको छ ।’
पछिल्लो समय अल्ट्रासाउण्ड गर्नु पर्ने र एक्सरे गर्नु पर्ने बिरामीको चाप अस्पतालमा बढेको भएपनि एक्सरे मेसिनले काम नगरेका कारण समस्या हुँने गरेको अस्पतालमा प्राविधिक रुपमा सहयोग गर्दै आउनु भएका लक्ष्मणदत्त जोशी बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दैनिक १५ देखि २० जनाको एक्सरे र अल्ट्रासाउण्ड गर्नु पर्ने हुन्छ । कहिले काही २५ बढि बिरामीको अल्ट्रासाउण्ड एक्सरे गर्नु परेको छ । तर एउटै मेसिन पनि तात्ने समस्याले काम गर्न निकै कठिनाई भएको उहाँको भनाई छ ।’
एक्सरे मेसिनमा थोरै समस्या आएका कारण एक्सरे गर्नु पर्ने बिरामीलाई केही समस्या हुँने गरेको भएपनि विगतको तुलनामा अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाको सूचक बढेको जिल्ला अस्पताल, दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्ला अस्पताल, दार्चुलालाई रिफर अस्पताल भन्न मिल्दैन । अस्पताल जीर्ण छ । भवन अभाव हुँदासमेत गुणस्तरीय सेवा दिइरहेका छौँ । गत वर्ष १६ हजार जनालाई स्वास्थ्य सेवा दिदा १ सय ७० जना मात्रै अस्पतालबाट रिफर गरिएको छ ।’