बलात्कारका घटनामा बृद्धि भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि सात दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
असोज १८ गते आफू माताहतका कार्यालयहरुलाई परिपत्र गरेर सहन्याधिवक्ता लोकराज पराजुलीले मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाइ गरी किनारा लगाउन निर्देशन दिनुभएको हो ।
सो परिपत्रमा बलात्कार जस्तो जघन्य अपराधमा लगातार सुनुवाई हुने कसुरमा जबरजस्ती करणीसम्बन्धी कसुर पनि समावेश छ । महान्यायाधिवक्ताको कार्यालयले यो कानुनी व्यवस्था अनुसार सुनुवाइको माग गर्न सबै सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको हो ।
यसरी निवेदन दिइने मुद्दाको सङ्ख्या, लगातार कारबाही र सुनुवाइको प्रगति विवरणसमेत नियमित उपलब्ध गराउन परिपत्रमा उल्लेख गरिएको छ ।