प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङमा बनाउने प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरूले असोज १८ गते प्रदेश ५ का विभिन्न मन्त्रालयका गाडीमा तोडफोड गरेका छन् ।
प्रर्दशनकारीहरूले काठमाडौँबाट भैरहवा विमानस्थल हुँदै बुटवल फर्कँदै गर्दा मिलन चोकमा मुख्यमन्त्री शङ्कर पोखरेल लाई लक्षित गरी ढुङ्गा प्रहार गरेका छन् । ढुङ्गा प्रहारबाट मुख्यमन्त्रीका अङ्गरक्षक ४४ वर्षीय छविलाल रावललाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट मुख्यमन्त्री चढेको लु १ झ. ७८९० र स्कटिङमा रहेको लु १ झ ४९८ नम्बरको गाडीमा क्षति पुगेको छ । ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले घटनास्थलबाट एक जना पत्रकारसहित नेपाली कांग्रेसका नौ जना कार्यकर्तालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
रेडियो नमस्ते एफएमका स्टेशन म्यानेजर एवं रेडियो नेपालका रुपन्देही सम्वाददाता कमला पाण्डे, नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पोख्रेल, नेपाली कांग्रेसका कार्यकर्ताहरू शिव प्रसाद गैरे, प्रकाश गैरे, दयाराम पाठक, केशव अर्याल र ज्ञानेन्द्र बहादुर कार्कीलाई गिरफ्तार गरेको नेपाली कांग्रेसका महासमिती सदस्य युवराज गिरीले बताउनु भयो ।
घटनास्थलमा प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको थियो । भैरहवाबाट आउँदै गरेका मुख्य मन्त्रीलाई नेपाली कांग्रेसका कार्यकर्ताले कोटिहवा, मणिग्राम र शङ्करनगर क्षेत्रमा कालो झण्डा देखाएर विरोध जनाएका थिए ।
यसैगरी, संसद सचिवालयको लु १ झ ४४५ नमबरको गाडीलाई बुटवल उपमनपा–६ स्थित सिन्दुर होटल अगाडी ,भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको लु १ झ ४२१ नम्बरको गाडीलाई बुटवल उपमहानपा–४ ट्राफिक चोकमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेको र तोडफोडबाट गाडीका शिशाहरू क्षति भएको इलाका प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।
प्रर्दशनकारीहरूले सामाजिक विकास मन्त्रालयको लु १ ज ४२९ नम्बरको गाडी, प्रदेश ५ सिटीभिटी, तामनगर निर्देशनालयको लु १ झ ५५७ नम्बरको गाडी बुटवल उपमहानपा–९ स्थित मिलनचोकमा र प्रदेश ५ संसद सचिवालयको लु १ झ ४४९ नम्बरको गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडी र पछाडीका शिशाहरू फुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले असोज १८ गतेदेखि असोज २१ गतेसम्म पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेध गरेको छ ।
प्रदेशको स्थायी राजधानी सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा बुटवल उपमहानपा–९स्थित इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र, मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय रहेको बुटवल उपमहानपा–४ जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्र र मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।