इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटकोे संयुक्त टोलीले बारा जिल्ला सिम्रौनगढ नपा–४ का ५५ वर्षीय बद्रि सहनीलाई असोज १६ गते राति बौधिमाई नपा–७ स्थित बङ्कुल बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिनु भएको छ ।
गिरफ्तार परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको डिएसपी श्रेष्ठले बताउनु भयो । पहिलो संविधान सभा चुनावमा धाँधली गर्ने उद्देश्यले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमले तत्कालीन राजपुर फरहदवा गाविस–४ (हाल राजपुर नपा–४) मा रहेको एक गोठमा बम बनाउन लाग्दा अचानक बम विस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै इटाभट्टामा जलाएको आरोपमा सहनीलाई गिरफ्तार गरेको हो ।
उक्त घटनाका मुख्य योजनाकार मानिएका पूर्व मन्त्री आलम यसअघि नै गिरफ्तार परेकोमा हाल नख्खुस्थित केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।
०६४ चैत २८ गतेको संविधान सभाको चुनावलाई लक्षित गरी आलमले आफ्ना काका शेष इद्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएको प्रहरीको भनाइ छ । बम विस्फोटमा परी घाइते भएकाहरुलाई ट्याक्टरबाट इँटा भट्टाको चिम्निमा लगेर जलाएको आरोप छ ।
उक्त घटनाका सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०७५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सर्वाजनिक गरेका थिए ।