कोरोना महामारीका समयमा खाद्यवस्तुमा भएको मूल्य वृद्धि का साथै म्याद नाघेका वस्तुहरू बिक्री वितरण भइरहेकाले उपभोक्ता आफैँ सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीले धारणा राखेका छन् ।
अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपालगञ्ज, मानव अधिकार सञ्जाल, डीसीए र फियान नेपालको संयुक्त आयोजनामा असोज १२ गते नेपालगञ्जमा सम्पन्न मानवअधिकार सञ्जालको बैठकका सहभागीहरूले सो विषयमा धारणा राखेका हुन् ।
बैठकको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक, प्रदेश पाँचका संयोजक भोला महतले महामारीका समयमा समस्यामा परेका पीडितहरूलाई इन्सेकले सहयोग गर्दै आएको बताउनु भयो ।
नेपाल बारका उपाध्यक्ष, सुनिलकुमार श्रेष्ठले स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर कामहरू गर्नुपर्ने बताउँदै कोरोना सङ्क्रमणका समयमा बजारमा मौलाएको गलत प्रवृत्ति नियन्त्रण गर्न बजार अनुगमन गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्वारिका अधिकारीले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी पनि विभेदमा परेको बताउनु भयो । उहाँले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्नेहरूको अवस्था अझ नाजुक भएकाले उनीहरूलाई राहत दिनेतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताउनु भयो ।बार एसोशियसन, बाँकेका अध्यक्ष मो. अयुव सिद्दिकीले अनुगमन गर्दा दोषी भेटिएकालाई कारबाही दायरामा नल्याइँदा कालोबजारी गर्नेहरूको मनोबल बढेको बताउनु भयो ।
मानव अधिकारकर्मी प्रकाश उपाध्यायले सामाजिक सञ्जालमा कोरोना केही पनि होइन भन्दै गलत प्रचार गरिएकाले यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।
