युरोपेली युनियन र डानचर्च एडको सहयोग तथा इन्सेकको मुख्य साझेदारीमा दलित सेवा सङ्घ, सप्तरीद्वारा सञ्चालित दुई वर्षे परियोजनाको समापन भएको जानकारी दिइएको छ ।
राजविराजमा एक समारोहका बिच नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजनाको समापन भएको घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला कृषि कार्यालयका योजना अधिकृत उपेन्द्रकुमार सिंहले परियोजनाले दिएको सिपको सदुपयोग गरी प्रेरणादायी बनाउन जोड दिए ।
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक अवस्थामा परिवर्तन नआएकोले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा धेरै काम गर्नुपर्ने बताए । राज्यले नीति बनाएर, संसदबाट कानुन बनाई घोषणा गरेर मात्र नहुने भएकोले व्यवहारत कानुन कार्यान्वयनमा राज्य जिम्मेवार बन्नु पर्ने थापाले बताए । संयोजक थापाले परियोजना सम्पन्न भएपनि मानव अधिकारको अभियान जारी रहेको बताए ।
दलित सेवा संघका केन्द्रीय अध्यक्ष चक्रमान विश्वकर्माले राजनीतिक मुद्दाभन्दा पहिलेदेखि उठिरहेको दलित मुद्दा सम्बोधन हुन नसकेको भन्दै राजनीतिक, नागरिक अधिकारसँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषय राज्यले आत्मसात गर्नुपर्ने माग गरे ।
दलित सेवा सङ्घ, सप्तरीका अध्यक्ष पवन सरदार, नेकपा एमालेका जिल्ला सदस्य अशोक यादव, एकीकृत नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक असर्फी सदा, तमालोपाका सचिव बौवालाल शर्मा, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक छेदी रजक, दलित संयुक्त सङ्घर्ष मोर्चाका राजेन्द्र विक, मधेसी युवा फोरम लोकतान्त्रिकका केन्द्रीय कोषाध्यक्ष जगदीश साहलगायतकाले एकता, समन्वय र सहकार्यमा जोड दिएका थिए ।
परियोजनाअन्तर्गत दुई वर्षको अवधिमा सप्तरीको शम्भुनाथ, नकटी रायपुर, खोक्सर प्रवाहा र भङ्गहामा सञ्चालित भएका गतिविधिका बारेमा कार्यक्रम संयोजक दिपेन्द्र पासवानले जानकारी दिएका थिए ।