१९ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा चितवन जिल्ला अदालतका न्यायाधीश केशव अधिकारीको इजलासले असोज ७ गते भरतपुर महानगरपालिका–११ का १९ वर्षीय कविन परियारलाई आठ वर्ष कैद हुने फैसला गरेको छ ।
धादिङ जिल्ला निलकण्ठ गाउँपालिकाकी पीडितलाई ०७६ मङ्सिर १ गते नवलपुर गैडाकोट आफन्त कहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर महानगरपालिका–१२ स्थित जङ्गलमा लगि बलात्कार गरेको भन्दै पीडितले ०७६ मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
प्रहरीले आरोपितलाई मङ्सिर १ नै गिरफ्तार बलात्कार अभियोगमा मुद्दा चलाएको थियो । पीडितको मङ्सिर २ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
यसैगरी न्यायाधीश अधिकारीको असोज ७ गते कै इजसाले ३० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–९ शरदपुरका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका घर भएकी पीडितलाई सापकोटाले जेठ २३ गते आफ्नै घरमा लगि बलात्कार प्रयास गरेको भन्दै पीडितको दाजुले जेठ २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।
आरोपीतलाई जेठ २४ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको थियो । महिलाको जेठ २५ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।