अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी-५ का ८१ वर्षीय लालबहादुर सुनार र ४२ वर्षीया सावित्रा न्यौपानेलाई गाउँ निकाला गरेको आरोपमा सोही स्थानका करिव ४३ वर्षीय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेविरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडितका छोरा अनुराम सुनारले प्रेम सम्बन्ध राखेकै आधारमा गाउँ निकाला गरेको घटनाका आरोपितलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
गाउँ निकालाको कागजमा दुवै जनालाई जबरजस्ती औँठा छाप गर्न लगाई गाउँ निकला गरिएको उनले बताए ।
अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा ८१ वर्षीय दलितको जोडी गाउँ निकाला शीर्षकमा इन्सेक अनलाइन तथा जिल्लाका विभिन्न सञ्चार माध्यममा घटनाका बारेमा समाचार प्रकाशन तथा प्रशारण भएपछि जिल्लामा क्रियाशील दलित अधिकारकर्मी र इन्सेकको पहलमा पीडितले उजुरी दर्ता गरेका छन् ।
उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनार, इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्याल, नेपाल दलित सङ्घका अध्यक्ष झविन्द्र विक, नेपाल दलित मुक्ति मोर्चाका उपाध्यक्ष डिलबहादुर परियार, पत्रकार प्रेम सुनार, मुक्ति समाजकै जिल्ला सदस्य कृष्ण नेपालीलागायतको टोलीले जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपाललाई भेटेर घटनाको सत्य तथ्य बुझेर दोषी माथि कडा कारबाही गर्न मागसमेत गरेका छन् ।
डिएसपी नेपालले सार्वजनिक अपराधको मुद्दा दर्ता गरिने र तत्काल आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पुर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिएको बताए । दलित अधिकारकर्मी कृष्ण सुनारले अहिले तत्काल सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरिए पनि केही दिनमा जिल्ला अदालतमा जातीय विभेद विरुद्धको मुद्दा पनि दर्ता गरिने बताए ।
पीडित लालबहादुरको घर पनि भत्काइएको पीडित पक्षको आरोप छ । स्थानीयको ठूलो समूहले धम्क्याउँदै जलाउँ कि भत्काउँछस भनेपछि आफूले उनीहरूकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उजुरी दिन सदरमुकाम आएका छोराले बताएका थिए ।

