१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले लुम्बिनी सांस्कृतिक नपा–५ का ३० वर्षीय अब्दुल रसिद मुसलमान विरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले घरमा सुतेको अवस्थामा भदौ १४ गते घरदेखि टाढा लगेर यौन दुर्व्यवहार गरेको उजुरी आएको र आरोपित उपर अपहरण तथा बलात्कार प्रयास शिर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका सई डेलम्बर घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
यसैगरी, २४ वर्षीया महिलालाई बलात्कार गरी गर्भपतन गरेको आरोपमा पीडितले २५वर्षीय पति विरूद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
पीडितलाई आरोपितले असार २० गते कुटपिट गरी बलात्कार गरेको र चार महिनाको गर्भ पतन भएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । डिएसपी खत्रीले बलात्कार कसुरमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।