बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले ४६ बुँदे सुझाव दिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा नीतिको मस्यौदा बनाई नागरिकस्तरबाट सुझाव भएकोमा एनसीई बागमतीका संयोजक प्रकाश खतिवडा र मकवानपुर जिल्ला संयोजक बुद्ध लामाको नेतृत्वमा भदौ २७ गते प्रदेशको सामाजिक
विकास मन्त्रालयका सचिव दीपक काफ्लेलाई हस्तान्तरण गरिएको हो ।
एनसीई बागमती प्रदेश समन्वय समितिद्वारा भदौ १८ गते आयोजित भर्चुअल नागरिक छलफलबाट प्राप्त सुझावलाई ४६ बुँदामा सङ्कलन गरिएको एनसीई बागमती प्रदेश संयोजक खतिवडाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिए अनुसार मन्त्रालयका सचिव काफ्लेले सुझाव पत्रका लागि धन्यवाद व्यक्त गर्दै विभिन्न जिल्लामा शिक्षाका क्षेत्रमा काम गरेको जानकारी गराउँदै प्रदेशले बनाउन लागेको शिक्षा नीतिलाई समयसापेक्ष, जनमैत्री बनाउन भूमिका खेल्ने बताउनुभएको थियो ।
प्रदेशको शिक्षा नीतिमा विद्यार्थीलाई प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा संलग्न गराउने पाठ्यक्रम हुनुपर्ने, प्रदेशमा तामाङ भाषाको बाहुल्य रहेकाले पढाइको माध्यम तामाङ भाषा पनि हुनुपर्ने, प्रदेश छिमेकी चीनसँग जोडिएकाले चिनियाँ भाषा सिकाएर सीमापार व्यापार गर्न सक्ने लक्ष्य लिनुपर्ने सुझाव पत्रमा उल्लेख छ ।
त्यस्तै, नीतिमा विद्यालय र विश्वविद्यालयसम्बन्धी व्यवस्था एकै ठाउँमा राखिएकाले छुट्टाछुट्टै शीर्षकमा राखी प्रदेशले गर्ने काम प्रष्ट राख्नुपर्ने, विद्यालय स्थानीय तहको अधिकार क्षेत्रमा परेकाले प्रदेशले समन्वय र सहयोग गर्ने शब्दहरू हुनुपर्ने, पाठ्यक्रम जसले प्रयोग गर्ने हो, उसैले निर्माण गर्न सक्ने बनाउनुपर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा छात्राको सहभागिता बढाउन छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइएको छ ।