१८ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेकोे आरोपमा प्रहरीले सिगास गाउँपालिकास्थित विद्यालयका शिक्षक ३४ वर्षीय खडकसिंह बोहरा, २६ वर्षीय रामसिंह बोहरा र ३४ वर्षीय केशब बोहरालाई भदौ २२ गते गिरफ्तार गरेको छ ।
भागि विवाह गरेकी बालिकाको विवाह गरेको ६ महिनामै छोरी जन्मीएपछि परिवारका सदस्यले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो ।
घटना सार्वजनिक भएपछि भदौ २३ गते आरोपितहरुलाई गिरफ्तार गरी पीडितसँगै जिल्ला प्रहरी कार्यालय, बैतडीमा ल्याएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर किशन चन्दले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
आरोपित तीनै जनाले पटकपटक बलात्कार गरेका कारण आफ्नो गर्भ रहन गएपछि बाध्य भएर भागेर विवाह गरेको बताउँदै न्यायीक प्रक्रियाका लागि सहयोगसमेत गरीदिन पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भएको छ ।
पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरीसमेत दिएकोले प्रहरीले आरोपितविरुद्ध भदौ २४ गते नै जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडित र उनकी एक महिनाकी छोरीलाई जिल्लास्थित ओसिएमसी केन्द्रमा राखिएको छ भने पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।