१५ वर्षीया बालिकालाई दुई वर्षयता बलात्कार गर्दै आएको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–४ का ४५ वर्षीय उमेश नेपाललाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई दुई वर्षयता बलात्कार गर्दै आएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।
आरोपितले दुई वर्षयता मर्निङ वाकको बहानामा घर बाहिर लगेर बलात्कार गर्दै आएको बारेमा बालिकाले परिवारलाई भदौ २३ गते जानकारी गराएपछि पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितकै घरमा पीडित परिवार बहालमा बस्दै आएको र पछिल्लो समयमा आरोपितले बिवाह गर्न बालिकालाई दबाब दिँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीषण कोशी अस्पतालमा भदौ २४ गते गरिएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले भदौ २३ गते बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा स्थानीयले इलाका प्रहरी कार्यालय बेलाबारीमा खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेकोे इन्स्पेक्टर ऋषिराज ढकालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ २३ गते गरिएको छ ।