INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य स्वयम्सेविकाले तलव भत्ता नपाएको गुनासो

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरूले २ वर्षदेखि तलव, भत्ता र पोशाक भत्ता नपाएको वडा नं. ७ की स्वास्थ्य स्वयम्सेविका अनिता श्रीवास्तवले गुनासो गर्नु भएको छ ।

नगरपालिकामा ३५ जना स्वास्थ्य स्वयम्सेविका कार्यरत रहेका छन् । स्वास्थ्य स्वयम्सेविकाहरूलाई दिंदै आएको मासिक ६ सय रुपियाँ र पोशाक भत्ता बापतको ७ हजार ५ सय रुपियाँ दुई आर्थिक वर्षदेखि नदेखिएको वडा नं. ४ की स्वास्थ्य स्वयम्सेविका रेखा कर्णले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

स्वास्थ्यसम्बन्धी अधिकारका साथै नगरभित्रका जनताको स्वास्थ्य सरोकारका सवालमा स्थानीय तहमा अधिकार आएपछि जनकपुरधाम उपमहानगरपालिकाले आफूहरूलाई कुनै पनि प्रकारको औषधि र भिटामिनहरू नदिएको वडा नं. १ की स्वास्थ्य स्वयम्सेविका रिता थापाले बताउनु भयो ।

आफूहरूलाई वडाबासी अस्पताल र स्वास्थ्य चौकीमा नगएर गर्भवती र सुत्केरी महिलाहरू आइरन, भिटामिनलगायत गर्भनिरोधक साधनहरू लिन आउने गरेको भएपनि आफूहरूलाई त्यस्ता स्वास्थ्य सामग्री नगरपालिकाबाट उपलब्ध नगराएको स्वास्थ्य स्वयम्सेविका थापाले बताउनु भयो ।

आफूहरूलाई दुई वर्षदेखिको पोशाक भत्ता, ०७६ साउनदेखि हालसम्मको मासिक भत्ता र कात्तिक र जेठ महिनामा भिटामिन कार्यक्रममा खटिए बापतको भत्ता नगरपालिकाले नदिँदा समस्या भइरहेको स्वास्थ्य स्वयम्सेविका अनिता श्रीवास्तवले गुनासो गर्नु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य संयोजक उमेश रायले नगरपालिकामा आन्तरिक समस्या भएर स्वास्थ्य स्वयम् सेविकाहरूको पैसा समयमा पठाउन नसकेको स्वीकार गर्नु भयो ।

हामीले पोशाक भत्ता र मासिक भत्ताको साथै राष्ट्रिय भिटामिन अभियानको क्रममा खटिए बापतको रकम निकासाको लागि पहल गरिरहेको तर कोरोनाको कारणले गर्दा कर्मचारीहरू नै नगरपालिकामा नियमित नआउने गरेकाले समस्या भएको स्वास्थ्य संयोजक रायले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

अन्य

भिडियो