एक ११ वर्षीया र दुई जना नौ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वालोसोथार गाउँपालिका–३ का ४३ वर्षीय नन्दमान गुरुङलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितले ०७७ भदौ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा भदौ १९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर ओमप्रकाश पुनले इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको हो ।
पीडित पक्षले दिएको उजुरीमा पीडितहरुलाई आरोपितले डर र धम्की देखाएको कारण उनीहरूले घटनाको बारेमा कसैलाई पनि बताउन नसकेको र पछि स्वास्थ्यमा समस्या आउन थालेपछि आमाबुबाले सोध्दा घटना बाहिर आएको उल्लेख गरिएको इन्स्पेक्टर पुनले बताउनुभयो ।
आरोपितविरुद्ध जबरजस्ती करणी ऐन अन्तरगत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण भदौ १९ गते जिल्ला सामुदायिक अस्पताल लमजुङमा गरिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।