गरुडा इलाका प्रहरी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबिच भदौ १८ गते साँझ झडप हुँदा तीन जना महिला घाइते भएका छन् ।
घाइते हुनेमा माधवनारायण नपा–२ खेसरहीयाकी ४० वर्षीय सुन्दरकलीदेवी राम, गरुडा नपा–८ की २७ वर्षीय सङ्गीतादेवी राम र वृन्द्रावन नपा–२ की ४० वर्षीय गिरीजादेवी राम रहेका छन् ।
टाउकोमा चोट लागी घाइते भएकी सुन्दरकलीदेवीलाई सोही दिन बीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा भदौ १९ गते उपचारपछि घर फर्किनु भएको छ भने टाउँको, पिठ्यूँ र गोडामा चोट लागेर घाइते हुनुभएकी सङ्गीतादेवी र गिरीजादेवीको गरुडास्थित अनामिका क्लिनिकमा उपचार भएको जिल्ला सङ्घर्ष समिति रौतहटका संयोजक सोनेलाल रामले बताउनु भयो ।
आन्दोलन गर्ने क्रममा प्रहरीले बाहिरबाट तानेर भित्र लगी कुटपिट गरेको घाइते गिरीजादेवीले बताउनु भयो । आन्दोलनकारी पुरुषहरूले महिलाहरूलाई अगाडि पठाएर ढुङ्गामुढा गर्न लगाइ प्रहरीलाई कुटपिट गरेको र आन्दोलनकारीहरूकै ढुङ्गामुढाबाट ती महिलाहरू घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केदार थापाले बताउनु भयो ।
प्रहरीले हिरासतमा यातना दिएका कारण गरुडाका १९ वर्षीय विजय राम महराको मृत्यु भएको भनी इलाका प्रहरी कार्यालय गरुडामा स्थानीयले भदौ ११ गतेदेखि निरन्तर रूपमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
गत साउन ३१ गते गरुडा नपा–८ जिंगडीयामा घाँटी रेटेर हत्या गरिएका २० वर्षीय निरन्जन रामको हत्या आरोपमा गिरफ्तार परेका सात जनामध्ये विजय राम महराको उपचारको क्रममा भदौ ११ गते बिहान नेशनल मेडिकल कलेज बीरगंजमा मृत्यु भएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि लाठी चार्ज गर्नुको साथै ६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको इन्स्पेक्टर थापाले बताउनु भयो ।