वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अति जोखिममा रहेका छन् ।
भूगर्भविद्ले गुल्मी जिल्लामा ११ वटा बस्तीको भौगर्भिक अध्ययन गरेका मध्ये जिल्लाका चार स्थानीय तहका पाँच वटा बस्ती स्थानान्तरणमा परेका छन् । भूगर्भविद्ले मालिका गाउँपालिका, धुर्कोट र गुल्मी दरवार गाउँपालिकाका एक÷एक र मदाने गाउँपालिकाका दुई बस्ती स्थान्तरण गर्नुपर्ने सुझाव दिएका हुन् । तर स्थानान्तरणको कामले गति नलिएका कारण पहिरो प्रभावित परिवार जोखिम मोलेरै बसीरहेका छन् ।

मालिका गाउँपालिका–२ दर्लिङ्गको काशिलाबाँझ स्थानान्तरण गर्नुपर्ने बस्ती हो । अहिले काशिलाबाँझमा ३५ दलित घर परिवार छन् । सबै घर परिवार पहिरोको उच्च जोखिममा छन् । तर स्थानान्तरणको काम शुन्य छ । त्यो गाउँमा हिउँदमा पानी नपाउने बर्खामा घर–घरमा पानी पलाएर पहिरोले उठिवास बनाएको छ । ०७२ सालको साउनमा गाउँनै पहिरोले बगेपछि थुप्रै स्थानीय विस्थापित भए । पानी परे भाग्ने ठाउँ पनि छैन् । विस्थापित तत्कालिन समयमा केहि समय खुल्ला चौरमा बसे । तर स्थायी निकासमा कसैले चासो नदेखाएपछि विस्थापित परिवार घरमै फर्केर बस्दै आएको स्थानीय दलित अगुवा रविन्द्र विकले गुनासो गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपसँगै भौगोलिक विकटताले राज्यको सेवा सुविधाबाट पनि आफुहरू पछि परेको गुनासो गर्नुभयो ।
वडाध्यक्ष युद्धविर घर्तिले स्थानीय तहको कार्यपालिकामा छलफल भए पनि ठोस कार्ययोजना अगाडि नबढेको बताउनु भयो । मदाने गाउँपालिका–३ काफलपाटा र सिम गाउँका ३२ दलित घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानान्तरणको लागि दुई वर्ष अघि जग्गा खरिद गर्ने काम मात्रै भयो । वडाध्यक्ष नारायण घर्तिका अनुसार काफलपाटाका ३० घर मध्ये ११ घर खन्यूखर्क र १९ घर परिवारका लागि काफलपाटामै सामुहिक जग्गा खरिद गर्ने काम गरिएको छ । अरु दुई घर सिममै बसेका छन् । राज्यको स्पष्ट नीति नभएका कारण काममा अत्यन्तै निस्कृयता देखिएकाले आफुहरू पनि आलोचित बन्न थालेको बताउनु भयो ।

जग्गा प्राप्त गरेको दुई वर्षपछि अहिले घर निर्र्माणको लागि प्रति व्यक्ति ५० हजार रुपियाँ निकासा भएको छ । तर नापी कार्यालयबाट कित्ताकाट नभएका कारण घर निर्माणको काम ठप्प भएको खन्युखर्क एकिकृत वस्ती विकास समितिका अध्यक्ष बिष्णुबहादुर विकले जानकारी दिनुभयो । दुई गाउँ हिउँद र बर्खा दुबै समय पहिरोको उच्च जोखिममा छन् । बस्ती स्थानान्तरण गर्ने स्थानको डिपिआर र भौगर्भिक अध्ययनको काम मदाने गाउँपालिकाले सम्पन्न गरेको छ । भूगर्भविद्ले प्रतिवेदन समेत दिएकाले स्थानीय तह र कार्यालयहरूबिच समन्वय नभएकाले बाँकी काम ठप्प भएको स्थानीय कृष्ण घिमिरेले बताउनु भयो । घर निर्माण र भौतिक सङ्रचनाको कामका बिषयमा भवन डिभिजन, राष्ट्रिय पुनर्निर्माण र स्थानीय तह स्पष्ट नभएको घिमिरेको भनाई छ ।
धुर्कोट गाउँपालिका– ७ वाग्लाको अजमिरका १८ घर परिवार पनि स्थान्तरणको सुचिमा छन् । उनीहरूको अवस्था पनि घर र अन्य पुर्वाधार निर्माणमा गएर अडकिएको छ । उनीहरूलाई वडाचौरमा जग्गा खरिद गरिएको छ । सुरूमा प्रति परिवार २ लाख रुपियाँ प्राप्त भएकाले संयुक्त रुपमा घडेरी खरिद गरिएको र अहिले घर निर्माणको लागि पहिलो किस्ता प्राप्त भएकाले घर निर्माणको प्रक्रिया अगाडि बढेको वडाध्यक्ष हिमप्रसाद पन्थीले जानकारी दिनुभयो । तर घर निर्माणको बिषयमा पीडित परिवार अनभिज्ञ छन् । अजमिरका पहिरो पीडित बाबुराम विकले आफुहरू खाता खोलेर मात्रै बसेको बताउनु भयो । उहाँले केही समय पहिले जग्गा खरिद गर्ने बाहेक अन्य काम नभएको गुनासो गर्नुभयो । अझै पनि गाउँमा पहिरो जान नरोकिएको र स्थान्तरणको काम ठप्प जस्तै भएकाले ढुक्कले निदाउने दिन नआएको उहाँको गुनासो छ ।

अजमिरबाट स्थानान्तरण हुने सबै दलित परिवार छन् । आफुहरू आर्थिक तथा सचेतनाबाट पछि परेकाले कतै गएर बोल्न नसक्ने भएकाले वर्षौसम्म अन्यायमा परेको विकको भनाई छ । गुल्मी दरवार गाउँपालिका– १ बलिथुमको चारखुट्टे पहिरोको जोखिममा रहेको छ । त्यो ठाउँमा अहिले हुमबहादुर कुमालको परिवार मात्रै बसोबास गर्छन् । कुमालले अहिले भर्खरै घडेरी खरिद गरेर घर निर्माणको काम थालेको वडाध्यक्ष रामबहादुर पल्लीले जानकारी दिनुभयो ।