प्रदेश २ मा विभिन्न घटनामा परी १३ जना दलितको मृत्यु भएको घटनाबारे छानविन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा भदौ १७ गते प्रदेश २ सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
प्रदेश २ सरकारका प्रतिपक्षी दल नेकपाका सचेतक एवम् जातीय विभेद तथा छुवाछुत अनुगमन समितिका सदस्य सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरिएको प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले बताउनु भयो ।
प्रदेश सभाले पारित गरेको दलित सशक्तिकण ऐन बमोजिम प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको भदौ १७ गते बसेको पहिलो बैठकबाट छानविन समिति गठन गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनु भयो । बैठकले घटनाहरूबारे छानविन गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
यसैगरी बैठकले लकडाउनमा खाना नपाएर ०७७ जेठ ६ गते मृत्यु भएका सप्तरी जिल्ला कञ्चनरुप नपा–५ पथरी रामपुरका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेकी सप्तरी जिल्ला अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ महुली टोलीकी ३० वर्षीया भुटनी देवीको परिवारलाई १ लाख ५० हजार रुपियाँको दरले आर्थिक सहयोगका लागि प्रदेश सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
०७७ साउन ३१ गते राति हत्या गरिएका रौतहट जिल्ला गरुडा नपा–८ बसविटी जिंगडीयाका २० वर्षीय निरञ्जन राम र गढिमाई नपा–३ लक्ष्मीपुरकी ३५ वर्षीया मित्रादेवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मित्रादेवी बैठाको शव उखुबारीमा ०७७ भदौ १४ गते साँझ फेला परेको थियो ।