INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य सेवाबाट वन्चित भएको स्थानीयको गुनासो

व्यास गाउँपालिका–१ छांगरुमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी नहुँदा आफूहरुले स्वास्थ्य समस्या झेल्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बिरामी भएर उपचारका लागि छांगरु स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मी नभएका कारण चेकजाँच बिना नै फर्किनु पर्ने बाध्यता रहेको स्थानीय जगदीशप्रताव ऐतवालले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकी भवन छ तर स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्य चौकीमा औषधी छैन् । विगतमा भारतीय सुरक्षाकर्मीको क्याम्पमा गएर औषधी उपचार गर्ने गरेका थियौँ । अहिले लकडाउन भएपछि भारतीय सुरक्षाकर्मीको क्याम्पमा पनि जान पाएका छैनौँ ।’

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी नभएपछि आफूहरु उपचारबाट वन्चित हुँदै आएको स्थानीय गिता बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीमा उपचारका लागि गयो भने अनमी मात्रै भटिन्छन् । चेकजाँच नगरी फर्कीनु परेको छ ।’

सदरमुकाम खलंगाबाट छांगरुमा बसाइसराई गरेर आएको ६ महिना पुगिसक्दा पनि आफूहरुले स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय नरेन्द्र बोहोराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘दुरगमबस्ती र हिमाली भेग भएकोले होला । स्वास्थ्यकर्मीहरु यहाँ आउदैनन् । स्वास्थ्य चौकी देखाउनका लागि मात्रै बनाएको जस्तो छ । सेवा पाउन सकेका छैनौँ ।’

छांगरु स्वास्थ्य चौकीमा कार्यरत अनमी विन्दा बुढाथोकीले हाल स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र उपकरण नभएका कारण स्थानीय बिरामीहरुलाई सेवा दिन नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीमा  एक जना कार्यालय सहयोगी र एक जना स्वीपर मात्रै छन् । छांगरुमा चिसो धेरै हुन्छ । रुघाखोकी,ग्याष्टिक,आँखाका रोगी, हातखुट्टा दुखेका बिरामीहरु आइरहन्छन् । तर, चेकजाँच गर्न विपी सेटसमेत छैन् । उहाँहरुलाई दिनका लागि औषधी छैन् । कसरी बिरामीलाई चेकजाँच र सेवा दिन सकिन्छ ? ।’

व्यास गाउँपालिका स्वास्थ्य संयोजक चन्द्रसिह कुँवरले छांगरुका स्वास्थ्यकर्मी काँहा छन् र स्वास्थ्य चौकीमा के समस्या छ भन्नेबारे आफूलाई जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीका कर्मचारी र औषधीको अवस्थाका बारेमा स्वास्थ्य इन्चार्जलाई थाँहा होला ।’

स्वास्थ्य चौकी इन्चार्ज  जगदीश ऐतवालले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएका कारण कार्यालयमा उपस्थित हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘म आफै विरामी छु ।  धनगढीमा चेकजाँच गर्दैछु । छांगरु पुग्न बाटो  छैन् । स्वास्थ्यले साथ दिएको छैन् । जागिर नै छोड्ने सोचमा पुग्दैछु ।’

छांगरु स्वास्थ्य चौकीका अहेव दानसिह भण्डारीले बिरामी भएका कारण महेन्द्रनगरमा उपचार गरिरहेकोले स्वास्थ्य चौकी पुग्न नसकेको बताउनु भयो ।

व्यासको छांगरु तिंकर पुग्न नेपालतिर घोरेटो बाटो नभएको र व्यासको घाटिबगर र तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध हुँदा यस क्षेत्रका स्थानीयले आवतजावतसमेत गर्न सकेका छैनन् ।

व्यासको छांगरुमा १ सय १७ परिवार र तिंकरमा ७० परिवारको बसोबास रहेको यस क्षेत्रमा झण्डै १ हाजर २ सय जनसङ्ख्या रहेको छ ।

अन्य

भिडियो