INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी यातनाबाट हिरासतमा रहेका महराको मृत्यु भएपछि संलग्नताको आरोपमा तीन जना प्रहरी निलम्बित

प्रहरीको यातनाबाट गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय महराको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर नविनकुमार सिंह र प्रदेश २ प्रहरीबाट प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र मुन्नाकुमार सिंहलाई निलम्बन गरिएको हो ।

गत साउन ३१ गते राति गरुडा नपा–८, बसबिट्टी जिंगडीयाका २० वर्षीय निरञ्जन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा गिरफ्तार परेका विजय राम महरालाई निलम्बनमा परेका तीन जना प्रहरीले यातना दिएको आरोपमा निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत तीन जना प्रहरी संलग्न थिए ।

इन्स्पेक्टर सिंहलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मको लागि निलम्बन गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णय अनुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई प्रदेश २, प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ गतेको पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको उल्लेख छ ।

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत तीन जनालाई निलम्बन गरेपनि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई भने प्रदेश प्रहरी कार्यालयमा तानेको छ । तर, महतोलाई समेत दोषी देखाउँदै दलित समुदाय र स्थानीय बासिन्दा भने दैनिक आन्दोलित हुँदै आएका छन् ।

अन्य

भिडियो