हुम्लाको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच साउन १९ गतेदेखि २२ गतेसम्म भएको झडपमा घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ ।
घाइते ६ जनालाई साउन २२ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लिइए पनि त्यहाँ उपचार हुन नसकेपछि २३ गते कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले इन्सेकलाई बताउनुभयो ।
झडपमा अदानचुली गाउँपालिका–२ का १५ वर्षीय जीवन पुन, ३२ वर्षीय अनन्त महतारा र सोही गाउँपालिका–३ का २५ वर्षीय मिम फडेरा, २३ वर्षीय अशोक महतारा, २८ वर्षीय मदन महतारा र अदानचुली ४ का ३९ वर्षीय गोर पुनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
नेकपाका कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते हुनेमा अदानचुली गाउँपालिका–४ का नेपाली कांग्रेसका स्थानीय नेता गोर पुन रहेका छन् भने अन्य व्यक्तिहरु नेकपाका कार्यकर्ता रहेको प्रहरीको भनाई छ ।
घटना स्थल करिब ४ दिनको पैदलमा पुगिने भएकोले जनपदका इन्स्पेक्टर सिताराम विष्ट र शशस्त्र प्रहरीका इन्स्पेक्टर नरसिंह धामीको नेतृत्वमा साउन २३ गते ३० जना भन्दा बढिको टोलि त्यसतर्फ खटाइएको डिएसपी सुवेदीले जानकारी दिनुभयो ।