१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यनेपाल नपां–६ का २५ वर्षीय सोनाम दुरा धिङ्दाललाई गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यलयमा वैशाख २९ गते मौखिक उजुरी दिएका थिए ।
आरोपित घटनापछि भागेर दमौलीमा लुकेर बसेको सूचना पाएपछि लमजुङबाट गएको प्रहरी टोलीले तनहुँ प्रहरीको सहयोगमा आरोपितलाई वैशाख ३० गते दमौलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय लमजुङमा वैशाख ३१ गते लिखित उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश पुनले जानकारी दिनुभयो ।
उहाँले आरोपितलाई थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको र अनुसन्धान पश्चात् कानूनी प्रकृया अगाडि बढाइने बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते जिल्ला सामुदायिक अस्पताल लमजुङमा गरिएको छ ।