लकडाउनले पारेको असरका सम्बन्धमा सिन्धुलीमाढीमा रहेको शैलशिखर अनाथालयमा वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि विमला पाण्डेले अनुगमन गर्नु भएको छ । अनाथलयमा रहेका बालबालिकाहरूको अवस्थाको बारेमा बुझ्न उहाँले लकडाउन पछि दोस्रो पटक अनाथालयको अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या पर्न थालेको पाइएको छ । अनाथालयका सञ्चालक विष्णुप्रसाद देवकोटाले लकडाउनको अवस्थामा कतैबाट अनाथालयलाई स्रोत पनि नजुटेको र सरकारी निकायले वेवास्ता गरेको बताउनु भएको छ ।
देवकोटाले लकडाउनमा बालबालिकालाई केहि व्यक्तिगत सहयोग आएको भए पनि सरकारी निकायले ध्यान नदिएको बताउनु भयो । उहाँले इन्सेकलाई राहतका लागि पहल गरिदिन समेत अनुरोध गर्नु भएको छ । बालबालिकाको भर्नाको समय पनि भइसकेको र किताव, कपि, कलमको व्यवस्था गर्नुपर्ने समयमा बालबालिकालाई खाद्यान्नकै समस्या भएको उहाँले गुनासो गर्नु भएको छ ।
कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन भएको उक्त अनाथालयले १० जना बालबालिकालाई आश्रय तथा शिक्षाको व्यवस्था गरेको छ । १० वर्षदेखि सञ्चालनमा रहेको अनाथालयका बालबालिकालाई सरकारी सहयोग प्राप्त हुन सकेको छैन । उक्त अनाथालयमा १० बालबालिका सहित सञ्चालक र व्यवस्थापक गरी १२ जना बस्दै आएका छन् ।
अनाथालयका बालबालिकालाई सिन्धुलीमाढीमा रहेको भगवती आवासिय मावि माढीबजारले आधा शुल्क मिनाहा गरिदिएको छ । आधा खर्च अनाथालयले नै व्यवस्था गर्दै आएको छ । बालबालिकालाई पढाउन तथा खानपान तथा हेरचाहका लागि नियमित खर्चको अभाव भएपछि अनाथालयले कुखुरा तथा बाख्रा पालन गरेर बालबालिकाको खर्च जुटाउँदै आएको थियो भने दाताहरूको सहयोग पनि केहि जुट्दै आएको थियो ।
लकडाउनका कारण अनाथालय सञ्चालनमा समस्या भएपछि अनाथालय रहेको वडाका वडाध्यक्ष महेन्द्रप्रसाद ढकालले अनाथालयलाई राहत दिनुपर्ने भनि कमलामाई नगरपालिकामा सिफारिस गरेको भए पनि सहयोग नपाएको देवकोटाले गुनासो गर्नु भएको छ ।
बालबालिकालाई परेको समस्याका बारेमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसँग कुरा राख्दा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले बालबालिकालाई खान नपाउने अवस्था सृजना हुन नदिने बताउनु भएको छ ।