INSEC Online

📅 २०८३ जेष्ठ २१

सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

करैयामाई गाउँपालिका–५ तेतरीया निवासी संस्कार एफ.एम.मा कार्यरत पत्रकार ३५ वर्षीय  महेन्द्र सहनी, ३३ वर्षीया पत्नी दिपाकुमारी सहनी गाढी र १६ वर्षीया छोरी प्रियाँका कुमारी सहनीलाई वैशाख १४ गते विहान ८ बजे सोही ठाउँका ४५ वर्षीय लालबहादुर सहनी, २१ वर्षीय अजय सहनी, १८ वर्षीय अरून सहनी, १८ वर्षीय श्याम सहनी, ४८ वर्षीय सुदामा सहनी, ४२ वर्षीया अनिता सहनी र ५२ वर्षीया कुन्तिदेवी सहनीले गाली तथा कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पत्रकार सहनीले बताउनु भएको छ ।

उक्त घटनाका क्रममा आरोपितहरूले आफ्नो घरको ढोका फोडेको तथा घरको भित्ता तोडफोड गरेको पीडित पत्रकार सहनीले बताउनु भएको छ ।

पत्नी दिपा र छोरी अनिताको टाउको र पिठ्युमा चोट लागेको कारण स्वास्थ्य चौकीमा वैशाख १४ गते उपचार गराइ थप उपचारका लागि वैशाख १७ गते कलैया अस्पताल लगेको पीडित पत्रकार सहनीले जानकारी दिनु भएको छ ।

घरको ढोका फोडेर मोटरसाइकल र साइकलमा क्षति गरी घर भित्र प्रवेश गरेको पीडित पत्रकारले बताउनु भएको छ ।

घरभित्र प्रवेश गरी धान–चामल नष्ट गरेको घटनाको जानकारी पाउना साथ दुबै पक्षलाई भेट गरी झगडा गर्न नहुने भन्दै सम्झाएको वडा अध्यक्ष उमेश चौधरीले बताउनु भयो । गाउँपालिकाकी उपाध्यक्ष चित्रलेखा चौधरीले दुबै पक्षलाई मिलेर बस्न सल्लाह दिएर कार्यालय गएको बताउनु भयो ।

बारागढी प्रहरी चौकीका असई सुरेश पासवानले झगडा भएपछि तत्काल घटना स्थलमा पुगेर दुबै पक्षलाई प्रहरी चौकीमा लिएर आउँदै गर्दा वडा कार्यालयमा गएर सल्लाह गर्न लागेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले घटनाको अनुसन्धान गरी आवश्यक कारवाही गर्ने बताउनु भएको छ ।

अन्य

भिडियो