डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहामा वैशाख १० गते राति दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र विपक्षी पक्षबीच भएको झडपमा दुबै पक्षका गरि सात जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा वडा अध्यक्ष पक्षका २४ वर्षीय रञ्जित मण्डल, २८ वर्षीय गजेन्द्र यादव र ५५ वर्षीय रामप्रसाद मण्डल छन् भने विपक्षका ५५ वर्षीय यानचन मण्डल, उनकी दिदी ६२ वर्षीया रामवतीदेवी मण्डल, ६५ वर्षीय लालदेव मण्डल र निजकी पत्नी ६० वर्षीया रतनीदेवी मण्डल छन् ।
घाइते रञ्जितको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइ.सि.यु.मा राखेर उपचार भईरहेको छ ।
घाइते रामप्रसाद, गजेन्द्र, यानचन र रामवतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भईरहेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका लालदेव र रतनी उपचार पश्चात घर फर्किएका छन् ।
वडा सदस्य मानबिर रजकका अनुसार बहुमतका आधारमा वडा अध्यक्ष र तीन जना सदस्यहरुले अन्य राजनीतिक दलका प्रतिनिधीहरुलाई नराखी गरिब, विपन्नहरुको साटो धनी सम्पन्नहरुलाई राहत वितरण गर्न खोजेको विषयलाई लिएर दुई पक्ष बीच झडप भएको हो ।
कांग्रेसबाट निर्वाचित रजकबाहेक वडा अध्यक्षसहित अन्य वडा सदस्यहरू सङ्घीय समाजवादी फोरमबाट निर्वाचित हुन् । फोरमकै गाउँ कमिटी अध्यक्ष उदयकान्त यादवले समेत वडा अध्यक्षले राजनीतिक दलको आधिकारिक प्रतिनिधि नराखी एकतर्फी रूपमा २ सय ६७ परिवारलाई राहत वितरण गर्न लागेको आरोप लगाउनु भयो ।
राहत वितरण गर्न केही युवाहरूसहित वैशाख ८ गते वडा कार्यालय पुग्नु भएका वडा अध्यक्ष उमेशकुमार यादव र सामाजिक परिचालक शिवशंकर मेहतालाई २ सय बढी स्थानीयले हातपात, ढुङ्गामुढा गर्दै भगाएपछि राहत वितरण कार्य स्थगित भएको छ ।

एकतर्फी रूपमा राहतको तथ्याङ्क सङ्कलन गरेको भन्दै नेकपा, नेपाली कांग्रेस, राजपा नेपालका कार्यकर्ताहरूले राहत राखिएको कोठामा आ–आफ्नो ताला लगाएका छन् ।
सोही विषयमा वैशाख १० गते राति यानचनको घरमा पुगेर वडा अध्यक्ष पक्षधरले कुटपिट गर्न थालेपछि आक्रोशित गाउँलेहरूले लखेटेपछि दुई पक्षबीच दोहोरो झडप भएको स्थानीय बिनोद यादवले बताउनु भयो ।
घाइते गजेन्द्रका भाई सुरेन्द्रका अनुसार वैशाख १० गते राति यानचनको घर गएर गाउँलेहरूबीच आपसमा झगडा गर्न नहुने भन्दै सम्झाएर घर फर्किए पछि फर्सा, गर्सासहित आएको समूहले आक्रमण गरेपछि झडप भएको आरोप लगाउनु भयो ।
दुबै पक्षले एक–अर्काविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरी उजुरी दिएका छन् ।