फाकफोकथुम गाउँपालिका – ५ का वडा सदस्य ६१ वर्षीय तुलाराम दर्लामी मगरलाई चार जनाको समूहमा रहेका व्यक्तिले वैशाख ४ गते कुटपिट गर्दा मगरको दाहिने आँखा फुटेको छ ।
गाउँमा ‘विवाद मिलाउन’ भन्दै बोलाएर वडा सदस्य मगरमाथि सोही वडाका ४२ वर्षीय सुरेश दर्लामी, ४५ वर्षीय धनबहादुर दर्लामी, ३९ वर्षीय तगेन्द्र दर्लामी र ४९ वर्षीय रामकुमार दर्लामीले कुटपिट गरेको वडा – ५ का वडाध्यक्ष सुदीप आलेले जानकारी दिनुभयो ।
विवाद मिलाउन बोलाइए पनि विवादित पक्षहरूलाई थाहै नदिइ उनीहरू भेला भएका रहेछन्,’ वडाध्यक्ष आलेले भन्नुभयो वडा सदस्य मगर पुगेपछि अर्कै विषय झिकेर विवाद गर्दै कुटपिट गरेछन् ।’
कुटपिटबाट घाइते भएका वडासदस्य मगरको वैशाख ५ गते झापाको सैनिकस्थित मेची आँखा अस्पतालमा दाहिने आँखा काम नलाग्ने भएपछि शल्यक्रिया गरेर निकालिएको मगरका छोरा गोविन्द मगरले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न चारै जना व्यक्तिलाई प्रहरीले वैशाख ४ गते नियन्त्रणमा लिएपनि सामान्य सोधपुछ गरेर छोडिएको वडाध्यक्ष आलेले बताउनु भयो ।
इलामका एसपी हिराबहादुर पाण्डेले भने घटनामा संलग्न भनिएका व्यक्तिहरुको विषयमा जाहेरी अहिले सम्म नपरेकाले उनीहरुलाई छाडिएको र आवश्यक परे पुन नियन्त्रणमा दिइने बताउनु भयो ।