राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत बोदे बर्साइन नपा–१० की २५ वर्षीया रञ्जुदेबी यादवको लागि इन्सेक सप्तरीले वैशाख ४ गते दुई पिन्ट रगत उपलब्ध गराएको छ ।
रगत अभावले सिकिस्त हुनु भएकी यादवका पति बबलेश यादवले इन्सेक सप्तरी प्रतिनिधिसँग रगतका लागि आग्रह गर्नु भएपछि इन्सेक प्रतिनिधीले रगत उपलब्ध गराउनु भएको हो ।
इन्सेक सप्तरीका प्रतिनिधीको आग्रहमा हनुमाननगर कंकालिनी नपा–११ निवासी मुस्लिम सङ्घ प्रदेश नम्बर २ कमिटि सदस्य साकिर खान र सशस्त्र प्रहरी बल ६ नम्बर गण सप्तरीमा कार्यरत हरिश थापाले रक्तदान गर्नुभयो ।
इन्सेक सप्तरीको पहलमा चैत ८ गतेदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत यादवको यसअघि पनि इन्सेक सप्तरीको आग्रहमा उमेशकुमार यादव, कौशलकुमार साह, रामकुमार यादव र सन्तोषकुमार झाले रगत दिनु भएको थियो । ६ पिण्ट रगत परीक्षणका लागि लाग्ने सबै शुल्कसमेत इन्सेक प्रतिनिधीको आग्रहमा छुट गरिएको नेपाल रेडक्रम सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले बताउनु भयो ।
घुरको आगोमा जलेर गम्भीर घाइते हुनु भएकी यादवलाई बोदे बर्साइन नपा–३ मानराजास्थित उहाँको माइतबाट आर्थिक अभावका कारण राजविराज ल्याएर इन्सेक सप्तरी प्रतिनिधिको रेखदेखमा एक महिनादेखि उपचार भइरहेको छ ।
इन्सेक अनलाइनमा चैत ८ गते ‘गरिबीका कारण आगोले जलेकी रञ्जु उपचार अभावमा’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।