कञ्चन गाउँपालिका–३ धौलागिरीकी २८ वर्षीया लिला सापकोटा पौडेललाई बञ्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले ५५ वर्षीय चन्द्रमणी पौडेल विरूद्ध चैत २९ गते इलाका प्रहरी कार्यालय सालझुण्डीमा उजुरी दर्ता गराएका छन् ।
आरोपित ससुराले चैत २७ गते बिहान छोरा नाती सुतिरहेको कोठामा बाहिरबाट चुकुल लगाएर घरको सर सफाई गरीरहेकी बुहारीलाई पछाडीबाट बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइतेको युसिएमएस मेडिकल कलेज, भैरहवाको सघन कक्षमा उपचार भइरहेको छ । अस्पतालका अनुसार पीडितको अवस्था गम्भीर रहेको छ ।
घटना पछि भाग्न लागेको अवस्थामा प्रहरीले आरोपितलाई चैत २७ गते गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझुण्डीका इन्सपेक्टर कमल परियारले बताउनु भयो ।