दमौलीबाट प्रकाशित हुने दमौली खबर दैनिक पत्रिकाका सम्वाददाता राजेन्द्र परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङघ तनहुँ शाखाले विरोध गरेको छ ।
महासङघले चैत २८ गते प्रेस विज्ञप्ति प्रकाशित गरी समाचार सङ्कलनको क्रममा हिँडे्का पत्रकार परियारमाथि ट्राफिक प्रमुख अधिकारीबाट भएको दुर्व्यवहारको विरोध गरिएको छ ।
यतिबेला नेपालमा सहित विश्व समुदाय कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित बनेको र कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले चैत ११ गतेबाट देशैभर लकडाउन गरेको यस्तो विषम् र भयावह अवस्थामा पनि नेपालका सञ्चार माध्यम र पत्रकारहरूले ज्यान जोखिममा राखेरै आमजनता माझ सचेतना अभिवृद्धि गर्ने, सूचना प्रवाह गर्ने, कोरोना भाइरस सङ्क्रमण फैलन नदिन निर्वाह गरेको भूमिका सबैका सामु छर्लङ्ग रहेको भन्दै विज्ञप्तिमा यस्तो विषम् परिस्थितिका बाबजुद चैत २७ गते समाचार सङ्कलन गरेर फर्किदै गरेका पत्रकार परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख अधिकारीद्वारा दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
आम जनताको सूसुचित हुन पाउने सम्वैधानिक हकप्रति पूर्ण रूपमा दायित्वबोध गर्दै लकडाउनका बाबजुद पनि राज्यको चौथो अङ्गले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मीमाथि सम्मानजनक व्यवहार हुनुपर्नेमा महासङ्घ स्पष्ट रहेको भन्दै यदि कुनै समाचारमा चित्त नबुझे त्यस उपर सम्बन्धित निकायमा उजुरी गर्ने लगायतका कानूनी बाटाहरू हुँदाहुँदै पनि पुरानो रिसिइबी, पुराना समाचारमा चित्त नबुझेको लगायतका कारण जनाएर दुर्व्यवहार भएको भन्ने सञ्चारकर्मी परियारको भनाइले महासङ्घलाई थप चिन्तित तुल्याएको जनाइएको छ ।
सञ्चारजगत, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवाला सहित देशका तीनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै कोरोनाविरूद्ध लड्न सकिन्छ भन्ने मान्यता राख्ने सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको विज्ञप्तिमा भत्र्सना गरिएको छ । साथै सुरक्षित र निर्वाध ढङ्गले पत्रकारलाई समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तनहँु लगायत सरोकारवाला निकायसँग माग गरिएको छ ।
यसैगरि दमौली खबर दैनिक तथा दमौली एफएमको प्रशारण संस्था तनहुँ सञ्चार सहकारी संस्थाकी सचिव चिनु पोख्रेलले पनि विज्ञप्ति प्रकाशित गरी पत्रिका र एफएमका समाचारदाता तथा दमौली खबर डट कम अनलाइनका प्रमुख परियारलाई ट्राफिक प्रमुख अधिकारीले कार्यकक्षमा लगेर हातपात र दुर्व्यवहार गरेको जनाएकी छिन् ।
चैत २७ गते समाचार सङ्कलनकोलागि व्यास नगरपालिका–६ साँगे गएर फर्किँदा आफूलाई जिल्ला प्रहरी कार्यालय अगाडी लकडाउनको कार्यान्वयन गराउन बसेका ट्राफिक प्रहरीले रोकी कार्यालयमा लगेपछि ट्राफिक प्रमुख अधिकारीले अपशब्द बोल्दै दुर्व्यवहार गरेको र लौरोले पेटमा घोचेको पत्रकार परियारले बताउनुभयो ।
विज्ञप्तिमा यसरी समाचार सङकलनको क्रममा हिँडेका पत्रकारलाई दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको हुँदा दुर्व्यवहारमा संलग्न ट्राफिक प्रमुखलाई कारवाही गर्न माग गरिएको छ ।
यता ट्राफिक प्रमुख अधिकारीले भने आफुले कुनै पत्रकारलाई दुर्व्यवहार नगरेको बताउनुभएको छ । लकडाउनको कार्यान्वयन गराउने क्रममा सवारी साधनलाई रोकी कार्यालयमा ल्याई सामान्य सोधपुछ मात्र गरेको उहाँले बताउनुभयो ।
यसैगरी शुक्लागण्डकी नपा–४ बाट प्रसारण भइरहेको शुक्लागण्डकी एफएम तथा शुक्लागण्डकी एफएम डटकममा प्रकाशित ‘ज्वँरो र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्लागण्डकीमा युवतीलाई आइसोलेशनमा राखियो’ भन्ने समाचारको विषयलाई लिएर सामाजिक सन्जाल फेसबुकमा जिके श्रेष्ठ नामको आईडीबाट सो एफ एम तथा अनलाईनका स्टेशन म्यानेजर राजन उपाध्यायलाई धम्की दिएको घटना प्रति तनहुँ मिडिया नेटवर्क प्रालिले विज्ञप्ति प्रकाशित गरि विरोध जनाएको छ ।
एफएमका सचिव ज्योती श्रेष्ठले चैत २८ गते प्रकाशित गरेको विज्ञप्तिमा कुनै पनि बाहानामा पत्रकारमाथी गालीगलौच गर्नु र मानहानी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै त्यस्तो कार्य सच्याउन माग गरिएको छ ।