प्रदेश २ अन्तर्गत आठ ओटै जिल्लामा १ सय ६० स्थानमा ३ हजार २ सय ८५ क्वारेन्टाइन बेड रहेको छ । हालसम्म १ हजार २५ जनालाई क्वारेनटाइनमा राखिएको छ । चिकित्सकको सल्लाह अनुसार १ हजार ३ सय ३४ जना होम क्वारेनटाइनमा रहेको बताइएको छ । प्रदेशमा आइसोलेशनको क्षमता २ सय २० बेडको रहेको छ । प्रदेश २ का सिरहामा सात, धनुषामा ६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा १४ र पर्सामा तीन जनालाई आइसोलेशनमा राखिएको छ । प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले चैत ३० गते गरेको मिडिया ब्रिफ्रिङमार्फत उक्त जानकारी दिएको हो ।
प्रदेशका विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरसको आशङ्का गरिएका ३ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये १ सय ३५ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा रहेका २१ जना शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा ३७, ५५ र ४४ वर्षीय गरी तीन जना भारतीय नागरिकको कोरोना सङ्क्रमण रहेको पोजेटिभ रिपोर्ट आएपछि उनीहरूको सम्पर्क र गएका स्थानहरूमा निगरानी बढाइएको प्रदेश सरकारले जनाएको छ । उनीहरूको बागमती प्रदेशस्थित हेटौंडा प्रयोगशाला र काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि थप प्रभावकारी बनाउन प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयको संयोजनमा चैत ३० गते प्रदेशमा रहेका सम्पूर्ण जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र प्रादेशिक अस्पतालका प्रतिनिधिहरूको बैठक बस्यो । बैठकले प्रदेशभरि एकीकृत रूपमा कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनिकरणका लागि कार्य गर्नु पर्ने निश्कर्षअनुरूप प्रदेश अन्तर्गत सबै स्वास्थ्य संस्थाहरूको समन्वय गरी एकीकृत जनशक्ति परिचालन गर्न सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टको संयोजकत्वमा प्रादेशिक अस्पताल, नारायणी अस्पताल बीरगञ्ज र प्रदेश स्वास्थ्य सामग्री आपूर्ति केन्द्र जनकपुर समेत रहेको कार्यकारी कोर्डिनेशन कमिटी गठन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हालसम्म १ करोड १६ लाख ४७ हजार रुपियाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । साथै, कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला/जिल्लामा भएको प्रयास तथा लकडाउन सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै सप्तरीमा चैत ३० गतेबाट द्रुत परीक्षण ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी)) सुरु गरिएको छ । सरकारले ‘र्यापिड टेष्ट’ गर्ने निर्णय गरे पनि टेष्ट किट लिएर मन्त्रालयको टोली चैत ३० गते मात्रै आएकोले किट आए लगत्तै परीक्षण सुरु गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताउनु भयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. दासका अनुसार क्वारेन्टाइनमा रहेकाहरू र ‘फिभर क्लिनिक’ मा जचाउन आएका व्यक्तिहरूमा ‘र्यापिड टेस्ट’ विधिको प्रयोग सुरु गरिएको छ । पहिलो परीक्षणका क्रममा राजविराजस्थित क्वारेन्टाइनमा रहेका दुई र ‘फिभर क्लिनिक’ मा जचाउन आएका दुई जनाको नमुना जाँच गरिएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको डा. दासले जानकारी दिनु भयो ।
सम्भावित लक्षण भएका शङ्कास्पद व्यक्तिहरूको १५ मिनेटमै किटको प्रयोग गरेर कोरोनाको सङ्क्रमण भए/नभएको जानकारी लिन सकिने छ । सप्तरीमा स्वास्थ्य कार्यालयका लागि ४ सय, कञ्चनरुप स्वास्थ्य चौकीका लागि १ सय र राजविराजस्थित अस्पतालका लागि १ सय ६० किट ल्याइएको छ । राजविराज क्वारेन्टाइनमा रहेका र अस्पतालको ‘फिभर क्लिनिक’ मा ज्वरो जचाउन आएकालाई अस्पतालले र अन्य ठाउँको क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य कार्यालयको समन्वयमा परीक्षण हुनेछ ।
डा. दासका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाहरूको १४ औँ दिन परीक्षण गरिने छ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिने छ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिने छ ।
सप्तरीमै परीक्षण सुरु भएपछि रिपोर्ट छिटो आई उपचार सहज हुने अपेक्षा गरिएको छ । र्यापिड टेष्ट आएपछि आम सर्वसाधारणले केही ढुक्कको महसुस गरेको बताएका छन् ।
सप्तरीमा रहेको क्वारेन्टाइनमा घर फर्किनेहरूको सङ्ख्या निरन्तर बढेपछि क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या कम हुँदै गएको छ । चैत ३० गते क्वारेन्टाइनमा चार जना पुरुष थप भएकोमा १६ जना पुरुष क्वारेन्टाइनबाट घर फर्काइएपछि क्वारेन्टाइनहरूमा बस्नेको सङ्ख्या घटेर पाँच महिला र २ सय १५ पुरुष भएका छन् । चैत २८ गते ६ महिला र २ सय २७ पुरुष क्वारेन्टाइनमा थिए । सप्तरीको १८ ओटा स्थानीय तहले सञ्चालन गरेको ३२ ओटा क्वारेन्टाइनमा ५ सय ८७ बेडको रहेको छ ।
अग्निसाइर कृष्णासवरन गाउँपालिकाको आकास्मिक कोषमा चैत ३० गते वडा नम्बर ४ का वडाध्यक्ष तेजनारायण यादवले १ लाख ५ हजार र महुली लघुबित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले १ लाख १ हजारको चेक गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीलाई हस्तान्तरण गरे । गाउँपालिकाले प्रति परिवार १५ केजी चामाल, २ केजी दाल, १ केजी नुन र १ लिटर खानेतेल राहत प्रदान गरिरहेको छ ।
राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले चैत ३० गते स्वास्थ्यकर्मीहरूका लागि १ हजार मास्क, ५ लिटर स्यानिटाइजर र १ सेट पीपीई अग्नीसाइर कृष्णसवरण गाउँपालिकालाई प्रदान गर्नु भएको छ ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरूलाई निगरानीमा राख्ने क्रम जारी रहेको छ । उहाँका अनुसार केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेर गइसकेका छन् भने चैत ३० गतेसम्म १२ जना महिला १ सय १९ जना पुरुष गरी १ सय ३१ जना छन् । त्यसैगरी होम क्वारेन्टाइनमा पाँच महिला सहित ८९ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।
चैत ३० गते लकडाउनको उल्लङ्घन गरेको आरोपमा ११ ओटा मोटर साइकल र तीन ओटा ट्रक गरी १४ ओटा सवारी साधनहरू र चार थान साइकल तथा ३० जना व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि नियन्त्रनमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताउनु भयो ।
लकडाउनले गर्दा दलित, गरिब, ज्याला मजदुरी गर्ने परिवारहरूका लागि राहत वितरण कार्य जारी रहेको लहान नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनु भएको छ । चैत ३० गते लहान नपाको १ नम्बर वडामा ३ सय ५२, ३ नम्बर वडामा १ सय ८३, ५ नम्बर वडामा ४ सय ४१, ६ नम्बर वडामा १ सय ५६, ७ नम्बर वडामा १ सय ५१, ८ नम्बर वडामा १ सय ९२ र ९ नम्बर वडामा २ सय ३२ जना परिवारलाई राहत वितरण गरेको अधिकृत भुषालले बताउनु भयो । राहत प्याकेजमा २० केजी चामल, चार केजी आलु, एक केजी दाल, एक लिटर तेल, साबुन दुई ओटा, नुन एक केजी र नगद २ सय रुपियाँ दरले वडा अध्यक्षहरूले तयार पारेको विवरण अनुसार वितरण गरिएको छ ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई चैत ३० गते १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरू मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नु भएको छ ।
मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरूमा पीपीई १ सय ५० थान, ग्लोब्स ४ हजार २ सय ५०, सेनिटाइजर ५ सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० थान र सर्जिकल मास्क २ हजार थान रहेको छ । समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरू प्रदेश २ को विभिन्न अस्पतालमा पठाइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल-भारत खुला सीमा प्रयोग गरी भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । प्रदेश नं २ प्रहरीले सीमा क्षेत्रमा थप २ सय २९ चेकपोष्ट थप गरी ३ सय २९ चेकपोष्ट निर्माण गरेको छ । आठ जिल्लाका ४ सय ३२ किलोमिटरमा १ सयको हाराहारीमा चेकपोष्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउने जाने क्रम रोकिएको छैन् ।
लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिनु भयो । सीमा क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उहाँले बताउनु भयो । प्रदेश २ को सीमा क्षेत्रमा प्रदेशमा पहिला १ सयको हाराहारीमा मात्रै चेकपोष्ट थियो, तर अहिले त्यसलाई बढाएर ३ सय २९ पुर्याएको उहाँले बताउनु भयो ।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष ललित साहले जनकपुरमा विना मास्क मोटरसाइकलमा हिँडेको विषयमा ड्युटीमा रहेका असई विद्यापति ठाकुर बीच चैत ३० गते विवाद हुँदा असइको मोवाइल फुटेको छ । असई ठाकुरले अध्यक्ष साहलाई रोकेर मास्क बिना नहिड्न आग्रह गर्दा आफूमाथि दुर्व्यवहार गरेको असई ठाकुरले आरोप लगाउनु भएको छ । यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ भनेर आग्रह गर्दा अध्यक्ष साहले मास्क घरमै बिर्सेरआएको बताउँदै गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको असई ठाकुरले बताउनु भयो । साहको गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन आग्रह गर्दै मोटरसाइकलको साँचो असई ठाकुरले खोसेका थिए । मोटरसाइकलको साँचो खोसेपछि आक्रोशित भएका अध्यक्ष साह स्थनीय दर्जनौं व्यापारीलाई बोलाएर आफूमाथि हातपात प्रयास गर्दै अश्लिल गालीगलौज गरेको आरोप छ । सोही क्रममा असई ठाकुरको मोबाइल खसेर फुटेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट आएका प्रहरी टोलीले छलफलका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा असई र अध्यक्षलाई बोलाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीका अनुसार फुटेको असईको मोवाइलको क्षतिपूर्ति अध्यक्ष साहले तिर्ने सहमति भएको बताउनु भयो ।
प्रादेशिक अस्पताल जनकपुरमा जरो आएर अस्पताल पुगेका जनकपुरधाम उमनपा-२ बस्ने ३५ वर्षीया लक्ष्मी ठाकुर र ३८ वर्षीय निलकमल ठाकुरलाई प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । चैत २९ गते प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी कक्षमा पत्नी लक्ष्मीलाई १ सय ३ डिग्री जरो आएपछि उपचारका लागि पुगेको बेला गेटमा रहेका प्रहरी जवान आलोक कुमार सिंहले आफू र बिरामीलाई दुर्व्यवहार गरेको पीडितले गुनासो गर्नु भयो । ‘पत्नीलाई जरो आएकोले उपचारका लागि अस्पतालमा आएकोमा उपचारमा सलग्न चिकित्सकहरूले बेवास्ता गरे, यहाँ उपचार हुँदैन बाहिर जाउँ भनेर हप्काएपछि त्यही कुरा प्रहरीलाई सुनाउँदा उल्टै प्रहरीले आफूलाई लात्तीले हिर्काउदैँ ढोकाबाट बाहिर निकालेको गुनासो गर्नु भयो । उहाँले आफूले पत्नीलाई डा. विजयकुमार सिंहले सञ्चालन गर्दै आएको अस्पतालमा समेत लग्दा समेत कोरोना भाइरसको डरले उपचार नगरेको गुनासो गर्नु भयो ।
जनकपुरधाम उमनपा-८ स्थित जानकी आँखा अस्पताल अगाडि प्रहरी हवल्दार ३५ वर्षीय लालबाबु साहलाई सोही वडाको वलवा टोल बस्ने २८ वर्षीय अमित कुमार सिंह र २३ वर्षीय सुमित कुमार सिंहले कुटपिट गरेका छन् । विश्वव्यापी रूपमा फैलिदै गरेको कोरोना भाइरसलाई लक्षित गरी नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन हुने गरी एकै ठाउँमा दर्जनौंको सङ्ख्यामा भेला भएका युवाहरूलाई सम्झाउने क्रममा वलवा टोल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार साहमाथि दुई दाजुभाई मिलेर कुटपिट गरेका हुन् । घाइते प्रहरी हवल्दारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीमाथि हातपात गर्ने ती दुवै जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भयो ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार जिल्लामा क्वारेन्टाइन सङ्ख्या १७ रहेकोमा ३ सय ३० बेड पुर्याइएको छ । जसमा क्वारेन्टाइन ८२ जना रहेका छन् भने ८ सय १८ होम क्वारेन्टाइनमा गरी ९ सय जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यसैगरी, आइसोलेशन बेड सङ्ख्या २६ रहेकोमा अहिलेसम्म कोही पनि आइसोलेशनमा नरहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले चैत ३० गते गरेको कोरोना भाइरससम्बन्धी मिडिया ब्रिफिङमा जानकारी दिनु भयो ।
औरही नपा-८ का मदजुर, गरिब तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको छ । वडा नम्बर ८ का वडाध्यक्ष नवलकिशोर चौधरीले वडा कार्यालयको प्राङ्गंनमा समाजिक दूरी कायम गरी राहत सामग्री वितरण गरेका छन् । वडा अध्यक्ष चौधरीले ४ सय ६० गरिब विपन्न घरपरिवारलाई खाद्य सामग्री वितरण गर्नु भएको छ । राहतमा १५ केजी चामल, एक केजी दाल, २.५ केजी आलु, एक केजी नुन, स्वाबिन ५ सय ग्राम, साबुन तीन ओटा, खाने तेल एक लिटर लगायतका सामग्रीहरू वितरण गरेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो । राहत वितरण इलाका प्रहरी कार्यालय रामगोपालपुर इलाका प्रहरीको प्रतिनिधि लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो ।
इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार सर्लाही क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित विरेन्द्रप्रसाद सिंहले कोरोना भाइरसको सङ्क्रमणबाट जनताहरूलाई सुरक्षित राख्नका लागि आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्था र क्वारेन्टाइनहरूमा स्वास्थ्य सामग्री प्रदान गर्नुभयो ।
प्रदेश सभा सदस्य सिंहले बरहथवा नगरपालिकाको हजरिया, सुन्दरपुर चुहर्वा, बसबरिया गाउँपालिका र गोडैता नगरपालिकाको रामवन स्वास्थ्य चौकी सहित केही क्वारेन्टाइनमा स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय प्रमुखहरूले जानकारी गराउनु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने २२ वटा स्वास्थ्य चौकी तथा केही क्वारेन्टाइनहरूमा आफ्नो व्यक्तिगत लगानीमा ४४ सेट पीपीई, २ हजार ५ सय पिस ग्लोब्स, २५ बोटल सेनिटाइजर र २ सय थान सर्जिक मास्क वितरण गरेको प्रदेशसभा सदस्य सिंहले बताउनु भयो ।
स्वास्थ्य सामग्रीहरूको अभावका कारण कोरोना भाइरस नियन्त्रण गर्न जटिलता सृजना भइरहेको आफूले महसुस गरेकोले आफ्नै नीजि स्रोतबाट आफ्नो क्षेत्र भरिका स्वास्थ्य चौकी र क्वारेन्टाइनहरूलाई स्वास्थ्य सामग्रीहरू प्रदान गरेको सिंहले बताउनु भयो ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार पर्साको वीरगञ्जमा तीन जना कोरोना सङ्क्रमित भेटिएपछि गौर नगरबासीलाई कोरोनाबाट जोगाउन नगरक्षेत्रलाई सेनिटाइज गरिन लागेको नगर प्रमुख अजयकुमार गुप्ताले बताउनु भएको छ । चैत ३० गते गौर नगरपालिकास्थित नेपाल भारत बोडर भन्सारदेखि सेनिटाइज गर्न सुरु गरिएको नगर प्रमुख गुप्ताले जानकारी गराउनु भयो । गौरका नरबासीलाई कोरोनाको सङ्क्रमण हुनबाट नगर क्षेत्रलाई क्लोरिन सहितको सेनिटाइजर पाउडरलाई पानीमा मिसाई नगरपालिकाको बारुण यन्त्रको प्रयोगबाट छरिएको हो ।
सरकारले लकडाउन गरेपछि अति विपन्न परिवारलाई रौतहटको चन्द्रपुर नगरपालिका-४ ले चैत ३० गतेदेखि राहत सामग्री वितरण गरेको छ । वडाध्यक्ष अमर आलेले चैत ३० गतेदेखि राहत सामग्री लक्षित समूहको घरदैलोमा गएर वितरण गरेको जानकारी दिनु भयो । चन्द्रपुर नपा-५ ले आफ्नो वडाभित्रको अति विपन्न परिवार, दैनिक ज्याला मजदुरी गर्नेहरूका लागि चैत २९ गतेदेखि सुरु गरेको राहत सामग्री आज पनि वितरण गरीएको छ । चन्द्रपुर नपा-५ मा रहेका ५ सय २१ घरधुरीलाई पहिलो चरणमा राहत सामग्री वितरण गरिएको हो भने अन्यलाई क्रमशः वितरण गर्ने योजना रहेको वडाध्यक्ष संजय काफ्लेले बताउनु भयो । वितरित राहत सामग्रीमा चामल ३० केजी, दाल तीन केजी, तेल दुई लिटर, साबुन चार ओटा रहेको छ । यसअघि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ ले भने राहत सामग्री वितरण गरिसकेको छ ।
रौतहटको गढिमाई नगरपालिकाले दुस्सप्रचार गरेको आरोप लगाउँदै करारका तीन जना कर्मचारीलाई चैत ३० गते पदमुक्त गरेको छ । राहत वितरणमा अनियमितता गरेको भन्दै सामाजिक सञ्जालमा श्रव्यदृश्य र स्टाटस पोष्ट गर्ने गढिमाई नगरापलिकाका स्वास्थ्य चौकीका अहेव सुनिलकुमार यादव, कार्यालय सहयोगी रौशनकुमार कलवार र ६ नम्बर वडा कार्यालयका कार्यालय सहयोगी दिलिप साहलाई नगरपालिकाले बर्खास्त गरेको हो । पदीय आचरण विपरित उनीहरूले समाज र जनमानसमा भ्रम सृजना गरेको आरोप लगाइएको छ । बर्खास्त तीन जना कर्मचारी सहित स्थानीय ब्रज यादव र मोहन पण्डित समेतलाई कारबाहीको लाति इलाका प्रहरी कार्यालय गरुडामा पत्राचार गरिएको गढिमाई नगरपालिकाले जनाएको छ । सो नगरपालिकाको वडा नम्बर ६ मा वितरण गरिने राहत सामग्री नगरप्रमुख र कर्मचारीको मिलोमतोमा अनियमितता गरेको दुस्प्रचार उनीहरूले गरेको जनाइएको छ । अनुशासन विपरित जाने कर्मचारीलाई बर्खास्त गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनु भयो । सो वडामा राहत सामग्री वितरणका लागि ५ सय ६५ जनाको नाम सङ्कलन भएको जनाइएको छ ।
इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्लामा निर्माण भएका क्वारेन्टाइनमा १ सय २२ जना रहेको जिल्ला प्रहरी कार्यालयका डिएपी गौतम मिश्रले बताउनु भएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले घोषणा गरेको लकडाउन पालना गराउँदा घरमा रहेका अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएकाले चैत ३० गते कलैया उपमहानगरपालिका-२१ का ५ सय ७० परिवारलाई चामल, दाल, चना, आलु, नुन, तेल र साबुन वितरण गरेको वडाध्यक्ष पुनदेव प्रसाद रौनियारले बताउनु भयो । राहत वितरण गर्न वडा सदस्य, वडा सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको रौनियारले बताउनु भयो ।
त्यसैगरी, जितपुर सिमरा उमनपा-३ का २ सय ७२ अति विपन्न घरपरिवारलाई चैत ३० गते राहत वितरण गरेको वडाध्यक्ष जगरनाथ घिमिरेले बताउनु भयो । त्यसैगरी, जितपुर सिमरा उमनपा-७ मा लकडाउनबाट प्रभावित अति विपन्न ७ सय परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष रामबाबु गुप्ताले बताउ । उहाँले राहत सामग्री खरिद गर्न स्थानीय व्यापारीको आर्थिक सहयोग लिएको बताउनु भयो ।
त्यसैगरी, करैयामाई गाउँपालिका-२ का २ सय ९२ लक्षित घरपरिवारलाई राहत वितरण गरेको वडाध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले बताउनु भएको छ । गाउँपालिका अध्यक्ष भुनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो, राहत वितरण समितिका धिरेन्द्र चौधरीले समूहमा राखी सामाजिक दूरी कायम गर्दै राहत वितरण गरेको वडा सचिव गौरी शङ्कर चौधरी बताउनु भयो । बिश्रामपुर गाउँपालिका-२ भलवरियामा अति विपन्न १ सय ५३ गरिब परिवारलाई राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालले बताउनु भयो । सर्वपक्षीय सल्लाह र सरकारकले जानकारी गरेको निर्देशिका अनुसार राहत वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा देवीले बताउनु भयो । राहत वितरण गर्न प्रमुख प्रशासकीय अधिकृत शम्भु साहले सहजीकरण गर्नु भएको वडा अध्यक्ष अजय गुप्ताले बताउनु भयो ।
त्यसैगरी, करैयामाई गाउँपालिका-१ का ३ सय ७९ अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष सोनालाल साहले बताउनु भयो । करैयामाई गाउँपालिका-७ का ७ सय १० अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष बृज चौधरीले बताउनु भयो ।
इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको सङ्क्रमणको रिर्पोट पोजेटिभ भएको पुष्टि भएको छ । दोस्रो पटकको परीक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँले चैत ३० गते पुष्टि गरेको हो । उनीहरू बीरगञ्जको नारायणी अस्पतालमा आइसोलेशनमा भर्ना भएका छन् । तीन जनामध्ये एक जना दिल्ली र दुई जना उत्तर प्रदेशबाट नेपाल आएका हुन् ।
चैत २७ गते छपकैया र घुसुकपुर मस्जिदबाट २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा स्क्रीनिङका लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब सङ्कलन गरी बागमती प्रदेशको राजधानी हेटौँडा-१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो । २४ जनामध्ये तीन जनाको रिपोर्ट शङ्कास्पद देखिएपछि प्रहरीले चैत २९ गते बेलुका छपकैयाको मस्जिदमा रहेका अरूलाई पनि क्वारेन्टाइनमा राखेको छ । उनीहरूलाई बीरगञ्जको सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको छ । उनीहरूमध्ये तीन जनाको रिपोर्टमा कोरोना भाइरस (कोभिड- १९) पोजेटिभको आशङ्का देखेपछि चैत २८ गते ती तीन जानालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेशनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले चैत २७ गते स्वाब सङ्कलन गरेर पठाइएको २४ जनामध्येको तीन जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको बताउनु भयो ।
किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौँडामा चैत २८ गते ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । कोरोना सङ्क्रमण पोजेटिभ भेटिएपछि चैत २९ गते राती नारायणी अस्पताल प्रशासनले सूचना निकालेर इमरजेन्सी बाहेक सबै ओपीडी सेवा अनिश्चितकालसम्मका लागि बन्द रहने जनाएको छ । बीरगञ्ज महानगरपालिकाले कोरोना सङ्क्रमितहरूको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । बीरगञ्जको होटेल कन्ट्री इनमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूका लागि बस्ने व्यवस्था गरिएको बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिनु भयो ।
तीन जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि मध्य तराईको जनजीवन चिन्तित भएको छ । चिकित्सकहरूले चिन्ताभन्दा पनि सतर्कतामा ध्यान दिन अपिल गरेका छन् ।
तीन जना भारतीय नागरिकमा कोराना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरूले आश्रय लिदै आएको बीरगञ्जको छपकैया क्षेत्रलाई शिल गरिएको छ । बीरगञ्ज मनपा-२ छपकैयाको यतिम खाना र घुसुकपुरमा रहेको मस्जिदमा उनीहरूले आश्रय लिएका थिए । मुस्लिम समुदायमा धर्म प्रचार गर्न हिँड्ने समूहलाई जमाती भनिन्छ । जमातीको समूहमा रहेका धर्म प्रचारहरूले नमाज पढ्ने तरिकाहरू सिकाउने गर्दछन् । उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण पाइएपछि बीरगञ्ज र यस आसपासको क्षेत्रमा चिन्ता बढेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत संलग्न रहेको टोलीले छपकैया क्षेत्रमा अध्ययन गरी छपकैया क्षेत्रलाई शिल गरेको छ । त्यो क्षेत्रमा जमातीहरूसँगको सम्बन्ध सम्पर्कका विषयमा गहन खोजी सुरु गरेको छ । मस्जिदमा आएकाहरूको ट्राभल्स हिस्ट्रीका बारेमा पनि अनुसन्धान सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच बीरगञ्जमा कोभिड अस्पताल सञ्चालनका विषयमा सरोकारवालाबीच छलफल भइरहेको छ । बीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमण देखा परेपछि चिकित्सकहरूले पनि छुट्टै अस्पताल सञ्चालनको लागि सुझाव दिएका छन् । नारयणी अस्पताललाई नै कोभिड अस्पतालको रूपमा विकास गर्नेसम्मको छलफल भएको तर निष्कर्षमा नपुगिएको एक जना सहभागीले जनाएका छन् ।
जनरल र कोभिड-१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने प्रति चिकित्सकहरूले सजग गराएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले छिटोभन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
प्रदेशले निर्णय गरेको कोभिड अस्पताल छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ । त्यसो गर्न नसके स्थानीय प्रशासनले कुनै अस्पताललाई खाली गराएर पनि कोभिड अस्पताल बनाउनुपर्ने उहाँको धारणा रहेको छ ।
कोरोना सङ्क्रमित तीन जना भारतीय नागरिक हाल नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् । तीनजना भारतीय जमातीलाई कोरोना सङ्क्रमण भएको पुष्टि हुनासाथ बीरगञ्जमा सरोकारवाला निकायले सक्रियता देखाएका छ । जमातीमा रहेकाहरूको कन्टयाक्ट ट्रेसिङमा स्थानीय प्रशासनले ध्यान केन्द्रित गरेको जनाएको छ । कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फध्यान दिँदै आसपासको ठाउँ शिल गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहको भनाइ छ ।
नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चार ओटा आइसीयूको प्रबन्ध छ भने आइसोलेशन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय एक र नेशनल मेडिकल कलेजलाई १ सय थान र्यापिड टेष्ट किट प्रदान गरिएको छ ।