बडिमालिका नगरपालिकाले खाद्य संस्थानबाट खरिद गरी चैत २९ गते आफूहरूलाई राहत स्वरुप वितरण गरेको चामल कुहिएको अवस्थामा रहेको स्थानीयले आरोप लगाएका छन् ।
बडिमालिका नगरपालिकाले राहत स्वरुप वितरण गरेको चामल कुहिएको सोही नपा-४ का स्थानीय नरेन्द्र नाथले आरोप लगाउनु भयो ।
नगरपालिकाले आफ्नो टोलमा ६ बोरा चामल वितरण गरेको र ६ ओटै बोराको चामल कुहिएको अवस्था रहेको नाथको भनाइ छ । चामलमा डल्लासहित कालो ढुसी परेको स्थानीयको आरोप रहेको छ ।

राहत स्वरुप आफूहरूलाई उपलब्ध गराएको चामल फिर्ता लिन नगरपालिकालाई स्थानीयले अनुरोध गरेका छन् ।
वडिमालिका नगरपालिका-४ का १ सय ७५ परिवारलाई चामल वितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताउनु भयो ।
३० परिवारलाई २० केजीका दरले र १ सय ४५ परिवारलाई १० केजीका दरले राहतस्वरुप उक्त चामल वितरण गरिएको वडाध्यक्ष नाथले बताउनु भयो ।

ओलेना टोलका स्थानीयका लागि वितरण गरिएको ३० केजीका ६ बोरा चामल कुहिएको अवस्थामा पाइएकोले खाद्य संस्थानलाई नै फिर्ता गर्न लागिएको वडा अध्यक्ष नाथको भनाइ छ ।
ओलेना टोलबासीका लागि वितरण गरिएको चामल कुहिएको पाइए पनि अन्य व्यक्तिहरूले पाएको चामल खानयोग्य भएको वडा अध्यक्ष नाथले बताउनु भयो ।
तर, अन्य व्यक्तिहरूले पाउनु भएको चामल समेत खान योग्य नभएको स्थानीयको भनाइ छ । खाद्य संस्थानबाट नगरपालिकाले ३० किलोका ७० बोरा चामल खरिद गरेर नगरपालिकाकै वडा नम्बर ४ का स्थानीयलाई राहत स्वरुप वितरण गरेको थियो ।
नेपाल खाद्य संस्थान, बाजुरा शाखाका प्रमुख मेखराज ओझाले गत वर्षको मौज्दात रहेको चामल भएकोले कुनै बोराको चामल बिग्रिएको हुन सक्ने बताउनु भयो ।

उहाँले भन्नु भयो-‘हामीले ३० केजीका बोरा विक्री गरेका हौँ । गत वर्षको मौज्दात रहेको चामल गोदाममा थियो । ढुवानीका क्रममा गत वर्षको चामल भएकोले बिग्रिएको हुन सक्छ । ६ बोरा चामल बिग्रिएको भेटिएकोले फिर्ता आएको छ ।’
बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले संस्थानको चामल खरिद गरी वितरण गर्ने निर्णय अनुसार नै चामल खरिद गरेर स्थानीयलाई वितरण गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो-‘कुहिएको चामल छ भन्ने मलाई थाहा थिएन् । वडा नम्बर ४ का स्थानीयले गुनासो गरेपछि जानकारी पाएँ । हामीले त संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेका हौँ । चामल फिर्ता गर्न लगाएको छु ।’
प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले आफूलाई कुनै जानकारी नभएको तर गुनासो आएपछि खाद्य संस्थानसँग यस सम्बन्धमा जानकारी लिने बताउनु भयो ।