INSEC Online

📅 २०८३ जेष्ठ २१

कोराना भाइरससम्बन्धी प्रदेश २ को अवस्था (चैत २९ गते)

प्रदेश २ मा ३ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये १ सय ३२ जनाको रिपोर्ट आएकोमा सबैको नेगेटिभ छ । १ सय ३१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश २ सामाजिक विकास मन्त्रालयले चैत २९ गते गरेको मिडिया ब्रिफिङ्गमार्फत उक्त जानकारी दिएको हो ।

ल्याव टेस्ट क्षमता तुलनात्मक रूपमा न्यून रहेका कारणले गर्दा सबै स्वाब हामीले यहाँ परीक्षण गर्न नसकेको अवस्था देखिएकोले अन्यत्र परीक्षणका लागि पठाउने गरेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँले भन्नु भयो- “अहिले ठूलो सङ्ख्यामा ल्याव टेस्टको परिणाम आउन बाँकी रहेको कारण पनि त्यो हो ।”

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा केही व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । क्वारेन्टाइनमा थप हुने भन्दा घर फर्किनेहरूको सङ्ख्या बढेपछि क्वारेन्टाइनमा बस्नेहरू कम हुँदै गएका छन् ।

साथै, कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला जिल्लामा भएको प्रयास तथा लकडाउनका कारण समस्यामा परेका अति विपन्न समुदायलाई स्थानीय तहबाट भइरहेको राहत वितरण सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लाको विभिन्न क्वारेन्टाइनमा थप हुने भन्दा घर फर्किनेहरूको सङ्ख्या बढेपछि क्वारेन्टाइनमा बस्नेहरू कम हुँदै गएका छन् । चैत २९ गते पाँच पुरुष थप भएको र २० पुरुषलाई घर फर्काएको जानकारी दिँदै स्वास्थ्य कार्यालय सप्तरीले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २ सय ३२ भएको जनाएको छ । जसमा पाँच महिला छन् । चैत २८ गते क्वारेन्टाइनमा पाँच महिला र २ सय ४२ जना पुरुषलाई राखिएको थियो ।

सुरुङ्गा नगरपालिका-५ स्थित मसिलाल जनता मावि कुशहा क्वारेन्टाइनमा दुई पुरुष, राजगढ गाउँपालिका-३ स्थित जसमावि नर्घो, अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ स्थित जनचेतना मावि घोघिदाहा र तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित बृद्धाश्रममा एक/एक जना पुरुष थप भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक डम्बरलाल यादवले बताउनु भयो ।

बोदेवर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना मावि र बलान बिहुल गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट १०/१० जना पुरुष १४ दिनको निगरानी अवधि सकिएर घर फर्किएका छन् ।

भारतबाट फर्किएपछि क्वारेन्टाइनमा बस्नेहरूको मनको त्रास र आशङ्का हटेकोले घर फर्किन पाउदा निकै खुशी देखिन्थे । चिकित्सकहरूले अझै केही दिन घरमै एकान्तवासमा सुरक्षित भएर बस्न भनेका छन् ।

सप्तरीको १८ वटा स्थानीय तहले सञ्चालन गरेको ३२ ओटा क्वारेन्टाइनमा ५ सय ८७ ओटा बेड रहेको छ ।

सबै स्वास्थ्य संस्थामा सुरक्षा सामग्री नपुगिरहेका बेला राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले चैत २९ गते सप्तकोसी र कञ्चनरूप नगरपालिकालाई १० थान पीपीई, १० हजार ओटा मास्क, ५० लिटर सेनिटाइजर प्रदान गर्नु भएको छ । नगरपालिकामा रहेको स्वास्थ चौकीहरूमा यी समानहरू प्रयोग गरिनेछ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका लागि समेत आवश्यक समानहरू उपलब्ध गराइने भन्दै प्याकुरेलले भन्नुभयो- ‘आधारभूत सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई समस्या नहोस् भनेर सहयोग गरेका हौँ, सङ्कटको बेला सबैले मिलेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ ।’

लकडाउनका कारण पाकेको गहुँ बाली झर्न थालेपनि जनशक्ति नपाएर भित्र्याउन नपाएका बेला तिलाठी कोइलाडी गाउँपालिकाले आठ ओटै वडामा लगाइएको सम्पूर्ण किसानको गहुँबाली मेसिनबाट निःशुल्क काट्न सुरु गरेको छ ।

विभिन्न मनकारीहरूले विपन्न परिवारलाई खाद्य सामग्री उपलब्ध गराइरहेकोमा राजविराजसहित विभिन्न स्थानीय तहले समेत आ-आफ्नो वडाहरूमा राहत वितरण सुरु गरेको छ । राहत वितरणका लागि दैनिक ज्यालादारी गरी खाने र विपन्न परिवारको सूचीमा वैदेशिक रोजगारीमा रहेकाको परिवार, शिक्षक, कर्मचारी र व्यापारीसमेत समावेश गरिएको भन्दै विरोधहरू हुन थालेको छ । वास्तविक गरिब पहिचान गर्न नसकेर वडा अध्यक्षसहित विभिन्न पार्टीका प्रतिनिधिहरूले आ-आफ्नो मानिसको नाम सिफारिश गरेर भागवण्डा लगाएको स्थानीयवासीको आरोप छ ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले क्वारेन्टाइनमा निगरानीमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य कार्यालयबाट स्वास्थ्य सामग्रीहरू वितरण गरेको बताउनु भएको छ । १७ ओटै पालिकामा रहेको क्वारेन्टाइनहरूमा कोरोना किट भनेर दिएको उहाँले बताउनु भयो । पहिलो चरणमा चार ओटा औरही, बरियारपट्टी, नवराजपुर र भगवानपुर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा वितरण गरेको उहाँले बताउनु भयो । कोरोना किटमा मास्क, सेनिटाइजर, थर्मोमिटर, पीपीइ ग्राउन लगायतका सामग्रीहरू रहेको यादवले जानकारी दिनु भयो ।

लकडाउनले गर्दा दलित, गरीब र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गर्ने कार्य जारी रहेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताउनु भएको छ । चैत २९ गते लहान नगरपालिका-२३ नम्बर वडामा ५ सय ३२, १२ नम्बर वडामा २ सय ८८, ११ नम्बर वडामा २ सय ४१, २२ नम्बर वडामा ३ सय ८२, र २ नम्बर वडामा १ सय ७१ जनालाई राहत वितरण गरेको अधिकृत भुषालले बताउनु भयो । राहत प्याकेजमा २० केजी चामल, चार केजी आलु, एक केजी दाल, एक लिटर तेल, साबुन २ ओटा, नुन एक केजी र नगद २ सय रुपियाँका दरले वडा अध्यक्षहरूले तयार पारेको विवरण अनुसार वितरण गरीएको भुषालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार चैत २९ गतेसम्म १२ जना महिला, १ सय २१ जना पुरुष गरी १ सय ३३ जना क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसैगरी होमक्वारेन्टाइनमा पाँच महिला सहित ८७ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

धनगढीमाई नगरपालिका-१ स्थित महेन्द्र गेनाई अस्पतालमा कोरोना सङ्क्रमणको उपचारका लागि व्यवस्था गरिएको १८ बेडको आइसोलेशन वार्डमा चैत २९ गतेसम्म एक जना महिला सहित चार जनालाई उपचारको लागि राखिएको आइसोलेशन शाखाका इन्चार्ज डा. शुभाष मण्डलले बताउनु भयो । डा. मण्डलका अनुसार आइसोलेसनमा रहेका चारै जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार जिल्लामा क्वारेन्टाइन सङ्ख्या १७ रहेकोमा ३ सय २६ बेड पुर्‍याइएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् भने ८ सय ३ जना होमक्वारेन्टाइन रहेका छन् ।

त्यसैगरी, आइसोलेशन बेड सङ्ख्या २६ रहेकोमा अहिलेसम्म कोही पनि आइसोलेशनमा नरहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले चैत २९ गते गरेको कोरोना भाइरस सम्बन्धी मिडिया ब्रिफिङ्गमा जानकारी दिनु भयो ।

महोत्तरीको भङ्गहा नगरपालिकाले बाहिरबाट आउने शङ्कास्पद व्यक्ति तथा बिरामीका लागि १५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । भङ्गहा नगरपालिका-५ सीतापुर बजारस्थित रहेको भङ्गहा माध्यमिक विद्यालयको भवनमा १५ बेडको क्वारेन्टाइन निर्माण गरेको गरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिनु भयो । मेयर साहका अनुसार अहिलेसम्म नगरपालिकामा त्यस्ता शङ्कास्पद व्यक्ति वा बिरामी नदेखिकाले क्वारेन्टाइन खाली रहेको छ ।

रामगोपालपुर नपा-१ लक्ष्मीपुर टोलको एक जनालाई कोरोना भाइरस (कोभिड- १९) आशङ्कामा धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा परीक्षणको लागि पठाइएको छ । राम गोपालपुरको मेयर अशोक मण्डलका अनुसार भारतको दिल्लीबाट चैत १३ गते आफ्नो घर आएका उनलाई चेक जाँच गर्न ल्याउदा उहाँको अवस्था सामान्य रहेपनि रामगोपालपुर नगरपालिकाले महेन्द्र माविमा सञ्चालन गरेको कोरेन्टाइनमा राख्न लगाएको थियो । तर, केही दिनदेखि अत्याधिक जरो, श्वासप्रश्वासमा समस्या र सुखा खोकी हुनु लगायतको समस्या आएपछि  कोरोना सङ्क्रमण आशङ्कामा चैत २९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार भारतको आगराबाट सर्लाहीमा प्रवेश गर्न खोज्ने २९ जना नेपाली नागरिकलाई आज सोनवरसाबाट भारतीय सुरक्षाकर्मीले गिरफ्तार गरेको छ । गिरफ्तार उनीहरू चन्द्रनगर गाउँपालिकाका बासिन्दा हुन् । उनीहरूलाई रुनि शैदपुरको क्वारेन्टाइनमा पुर्‍याइएको भारतीय सुरक्षाकर्मी सोनबरसा वोर्डरका एसएसपी जवान विरेन्दर महतोले बताउनु भएको छ ।

भारतको कानपुरमा काम गर्दै आएका चन्द्रनगर गाउँपालिकाका १ सय ८४ जना व्यक्ति नेपाल प्रवेश गर्न खोजेपछि भारतीय सुरक्षाकर्मीले २९ जनालाई गिरफ्तार गरे पनि अन्य व्यक्तिहरू फरार भएका छन् । जसमध्ये १० जना लुकीछिपी भागेर चन्द्रनगर गाउँपालिकामा पुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनु भएको छ । चन्द्रनगर गाउँपालिकामा पुगेको १० जनालाई चन्द्रनगर गाउँपालिका-६ कामधस्थित माध्यमिक विद्यालयमा राखिएको र यस विद्यालयमा जम्मा क्वारेन्टाइन बेड सङ्ख्या ३५ रहेको छ । तर, चैत २८ र २९ गतेसम्ममा उक्त क्वारेन्टाइनमा ५९ जना पुगेका छन् । क्षमता भन्दा बढी भएपछि इश्वरपुर नगरपालिकाका पाँच जनालाई ईश्वरपुर नगरपालिकामा स्थित क्वारेन्टाइनमा पठाइएको, दुई जना व्यक्ति चक्रघटा गाउँपालिकाका भएकोले सोही गाउँपालिकामा रहेको क्वारेन्टाइनमा पठाइएको र एक जना हरिपुर नगरपालिकाका रहेको कारणले गर्दा हरिपुर नगरपालिकामास्थित क्वारेन्टाइनमा पठाइएको जनाइएको छ ।

चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा ३५ बेड मात्र हरेकोमा ५१ जना राखिएकोले समस्या भएको छ । तत्कालका लागि १६ जनालाई टेन्ट हाउसबाट डस्ना, ओड्नी, तन्ना र सिरानीरूको व्यवस्था क्वारेन्टाइनमा गरिएको चन्द्रनगर गाउँपाकिलाका स्वास्थ्य शाखा अधिकृत विरेन्द्र साहले जानकारी दिनु भएको छ । २० ओटा बेड काठमाडौँबाट भोलि आउने साहले बताउनु भयो ।

यसैगरी, सीमानाकाबाट जिल्ला प्रवेश गर्न लागेका तीन जनालाई त्रिभुवननगरबाट आज सुरक्षाकर्मीले गिरफ्तार गरेको छ । खुला सीमानाको चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गरी सीमा क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भएको छ ।

५१ किलोमिटर लामो भारतसँग सर्लाहीको सीमानाका खुला रहेका कारण यस्तो महामारीको समयमा पनि कतिपय व्यक्तिले सुरक्षाकर्मीलाई छलेर सीमा वारपार गर्ने गरेको सीमा क्षेत्रका स्थानीयहरूले बताएका छन् ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा चैत २९ गतेसम्म क्वारेन्टाइनमा १९ महिला र २ सय २२ पुरुष गरी २ सय ४१ जना रहेका छन् । हालसम्म १ सय १७ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये १७ जनाको रिपोर्ट आएकोमा सबै नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानीय तहहरूमा ८ सय ३६ बेडको क्वारेन्टाइन र २५ बेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ । हालसम्म रौतहटको क्वारेन्टाइनमा रहेका ४६ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको छ । उहाँहरूमा कोरोनाका सामान्य लक्षण पनि नदेखिएकाले घर पठाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भयो । रौतहटको विभिन्न क्वारेन्टाइमा खटिएका स्वंस्थ्यकर्मीहरूका लागि हालसम्म ६ सय ५१ वटा पीपीई रौतहटमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आफ्नो नगरक्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई चन्द्रपुर नगरपालिकाले राहत सामग्री वितरण गर्न ढिलाइ गरिरहेको अवस्थामा स्थानीय युवाहरूले आफ्नै खर्चमा वितरण गर्न थालेका छन् । गत चैत ११ गतेदेखि भएको लकडाउनले रोजगार गुमाएका अति विपन्न परिवारका बासिन्दाको घरमा चुल्हो बल्न छाडेपछि स्थानीय युवाहरूको एक समूहले राहत सामग्री वितरण गर्न सुरु गरेका छन् । सरकारले चैत १९ गते राहत सामग्री वितरण गर्न परिपत्र गरेपनि सो राहत सामग्री वितरण गर्न चन्द्रपुर नगरपालिकाले ढिलाई गरेको भन्दै प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाको नेतृत्वमा स्थानीय मुकेश गिरी, देवराज कार्की, विनोद गुप्ता, नेत्र कुश्वाहा, दिक्षित पौडेल, सुनिल अधिकारी, महेन्द्र थापा, नविन थापा, कल्याण कार्की, नरेश लामिछाने, विक्रम बस्नेत, सुमन मगर, सुबोध गिरी र अनिल भण्डारी लगायतले ‘मानव बचाउ अभियान’ भन्दै राहत सामग्री वितरण गर्न सुरु गरेका हुन् । उनीहरू भन्छन्- “मानवीय सङ्कटको घडीमा परिचय खुल्ने कागजपत्रको अवश्यकता छैन, जसको घरमा चुल्हो बल्न छाड्यो, उनीहरूको दैनिकीमा सहज ल्याउन राहत सामग्री दिनेछौँ ।” युवाहरूको समूहले मिलेर वितरण गरिएको खाद्य सामग्रीमा १० केजी चामल, दाल, नुन, तेल, आलु, सोयाबिन, मसला र साबुन रहेको छ । ती समूहले लकडाउनका कारण पीडित १ सय ५० परिवारलाई पहिलो चरणमा राहत वितरण गर्ने छन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रौतहटको गरुडा क्षेत्रबाट सञ्चालित एम्बुलेन्स चालकलाई आज प्रशिक्षण दिइएको छ । इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको प्राङ्गानमा उनीहरूलाई अहिलेको जटिल परिस्थितिमा सेवा दिँदा जोगिएर एम्बुलेन्स चलाउने उपायको बारेमा चेतनामूलक जानकारी गराइएको हो । डिएसपी ज्ञानकुमार महत्तोको सहभागितामा भएको कार्यक्रममा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट आफू तथा एम्बुलेन्समा उद्दार गरिने व्यक्तिहरूको सुरक्षाको विषयमा ज्ञान दिइएको हो । गरुडा क्षेत्रमा रहेका १७ ओटा एम्बुलेन्सका चालकलाई हातधुने तरिका र पीपीई लगाउने तरिका सम्बन्धी श्रव्य/दृश्य सामग्री प्रदर्शनी गरी जनचेतना मुलक प्रशिक्षण दिइएको हो ।

इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्णप्रसाद पंगेनीलाई चैत २८ गते १ सय ओटा सेनिटाइजर र २ सय ओटा माक्स प्रदान गरेको प्रदेस सभा सदस्य पासर साहले बताउनु भएको छ ।

यसैगरी, संविधान सभाका पूर्व माननीय सांसद प्रमोद गुप्ताले पनि जिल्ला सशस्त्र प्रहरी वलका एसपी दिगविजय सुवेदीलाई कोरोना भाइरस नियन्त्रण गर्न कर्तव्य निभाइरहेका प्रहरीलाई १ सय ओटा सेनिटाइजर र २ सय ओटा माक्स चैत २८ गते प्रदान गरेको गुप्ताले बताउनु भएको छ ।

कलैया उपमहानगरपालिका-८ मा चैत २९ गते ४ सय परिवारलाई ११ लाख २० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको वडा अध्यक्ष विक्रम यादवले बताउनु भएको छ ।

यसैगरी, करैयामाई गाउँपालिका-३ गालोपटी बजनीका ३ सय ३७ परिवारलाई चैत २९ गते राहत वितरण गरेको वडा अध्यक्ष देवेन्द्र केशरीले बताउनु भयो । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्न अति विपन्न, गरिब र दलित परिवारलाई वडाले सङ्कलन गरेको राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतोले बताउनु भयो ।

यसैगरी, प्रसौनी गाउँपालिका-३ मा गरिब, असहाय तथा अति विपन्न १ सय ७८ परिवार र चार ओटा मठ, मन्दिरमा चैत २८ गते राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले बताउनु भयो । गाउँपालिकाकी उपाध्यक्ष गीता देवी र प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरेमुस्तफाले राहत वितरण कार्यमा सहजिकरण गरेको वडाध्यक्ष आनन्द कुमार गुप्ताले बताउनु भयो ।

कलैया उपमहानगरपालिका-८ रङ्गपुरका अति गरिब, असाहाय, मजदुर र किसानका लागि राहतका रूपमा बाडेको दाल, चामल लगायतका सामग्री गुणस्तरहीन भएको भन्ने गुनासो आएपछि चैत २९ गते कलैयाको रङ्गपुरमा रहेको कोल्डस्टोमा छापा मारिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनु भयो । स्थानीय नागरिकको गुनासो आएकाले नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिरगञ्जमा २५ किलोका बोरामा राखिएको ३ सय ८० बोरा दाल शिलबन्दी गरी नमुना पठाइएको उहाँले बताउनु भयो । उहाँले खाद्य वस्तुको परीक्षण प्रतिवेदनका आधारमा थप निर्णय गरिने बताउनु भयो ।

नेपाल सरकारले जारी गरेको नोबेल कोरोना भाइरस राहत वितरण निर्देशिका निःशुल्क वितरण गर्ने फारम १ सय ५० रुपियाँमा विक्री वितरण गरेको आरोपमा पचरौता नगरपालिका-४ बेल्दारीका २५ वर्षीय वकिलकुमार यादवलाई चैत २८ गते बेलुका इलाका प्रहरी कार्यालय सिम्रोनगढका असई सुरेन्द्र तामाङ्को कमाण्डमा रहेको प्रहरीले गिरफ्तार गरेको  छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा पचरौता नगरापलिका-४ बेल्दारीका ४८ वर्षीय सोही वडाका वडाध्यक्ष कन्हैया यादव र पचरौता नगरापलिका-५ बेल्दारीका ३७ वर्षीय सोही वडाका वडाध्यक्ष लक्ष्मी यादवलाई बेल्दारीबाट चैत २९ गते दिउँसो गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद पंगेनीले बताउनु भयो । राहत लिनका लागि फारम लिनु पर्छ भन्ने हल्ला मच्चाएकाले फोटोकपी गरी विक्री वितरण गरेर कानुन उल्लङ्घन गरेकाले थप अनुसन्धान गर्न गिरफ्तार गर्नु परेको असई तामाङले बताउनु भयो । स्थानीयले समस्या जानकारी गराएकाले चैत २९ गते जिल्ला प्रशासन कार्यालय कलैयामा सोधपुछ भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनु भयो ।

इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले चैत २९ गते साँझ बिरगञ्ज महानगरपालिका-२ स्थित दुई मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ । प्रहरीले नियन्त्रणमा लिएका अधिकाँश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केही दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले आज बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो । कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

चैत २७ गते छपकैया र बाराको घुसुकपुर मस्जिदबाट २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’ का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब सङ्कलन गरी बागमती प्रदेशको राजधानी हेटौँडा-१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो । २४ जनामध्ये तीन जनाको रिपोर्ट शङ्कास्पद देखिएपछि प्रहरीले चैत २९ गते बेलुका छपकैयाको मस्जिदमा रहेका अरूलाई पनि क्वारेन्टाइनमा राखेको छ । उनीहरूलाई वीरगन्जको सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरूमध्ये तीन जनाको रिपोर्टमा कोरोना भाइरस (कोभिड- १९) पोजेभिटको आशङ्का देखेपछि चैत २८ गते अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेशनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले चैत २७ गते स्वाब सङ्कलन गरेर पठाइएको २४ जनामध्येको तीन जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको बताउनु भयो ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा चैत २८ गते ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निक्र्योल गर्नका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।

पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको सङ्क्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार चेम्बर अफ कमर्स धनुषाले एनएमबी बैङ्कको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा ९१ परिवारलाई चैत २९ गते राहत वितरण गरेको छ । चेम्बर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रका अनुसार वडा नम्बर २५ मा १६, वडा नम्बर २४ मा २४, वडा न्म्बर १६ मा १५, वडा नम्बर १९ मा २०, वडा नम्बर २ मा पाँच र वडा नम्बर ४ मा एक महिला गरी ९१ गरिब, असहाय, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । उपाध्यक्ष मिश्रले चामल, दाल, आलू, प्याज, सोयाविन र नून सहितका खाद्यान्न राहत आवश्यकता भएका गरिब परिवारलाई वितरण गरिएको बताउनु भएको छ ।

खाद्यान्न राहत वितरण सामग्रीका संयोजक समेत रहेका मिश्रका अनुसार चेम्वर अफ कमर्सले लकडाउन सुरु भएदेखि नै उपमहानगरपालिकाका विभिन्न वडामा खाद्यान्न राहत वितरण गर्दै आएको छ । लकडाउन अवधिभर विभिन्न दाताहरूको सहयोगमा गरिब परिवारहरूलाई वितरण जारी राखेको उहाँले जानकारी दिनु भएको छ ।

लक्ष्मिनियाँ गाउँपालिकाले गत चार दिनको अवधिमा करिब १ हजार ९ सय परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेको छ । पहिलो चरणमा २ हजार गरिब, असहाय दलित र दैनिक काम गर्ने मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने लक्ष्य अनुरुप खाद्यान्न वितरणको अन्तिम चरणमा रहेको जनाएको छ ।  गाउँपालिकाका प्रशासकीय अधिकृत हरिशंकर यादवले भने प्रदेश २ सरकारबाट प्राप्त १० लाख रकम अपुग भएपछि ५ लाख रुपियाँ पालिकाबाट थप गरेर १५ लाख रुपियाँ बराबरको खाद्यान्न राहत वितरण सङ्कलन गरी वितरण कार्यलाई तिव्रता दिइएको बताउनु भयो । सर्वदलीय सहमति अनुसार चार जनासम्म रहेको परिवारलाई सात किलो चाम, एक किलो दाल, डेढ किलो आलु र एक किलो नून तथा चार जनाभन्दा माथिको परिवारलाई १० किलो चाम, डेढ किलो दाल, दुई किलो आलु र नून लगायतका खाद्यान्न वितरण भइरहेको यादवले बताउनु भयो ।

अन्य

भिडियो