INSEC Online

📅 २०८३ जेष्ठ २१

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन लगाएको १८ दिन पुगेको छ । १८ दिनसम्म आइपुग्दा प्रदेश ५ का केही जिल्लाहरूमा क्वारेण्टाइनमा रहेका व्यक्तिहरूमा सङ्क्रमण नदेखिएपछि घर पठाउन थालिएको छ भने केही जिल्लाका क्वारेण्टाइनमा बस्नेहरूको सङ्ख्या बढेको छ ।

बाँकेका कानुन व्यवसायीहरूले चैत २७ गते जिल्ला अदालतविरूद्ध उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन गर्ता गराएका छन् । सर्वोच्च अदालतको फुल कोर्टले चैत ७ गते एक वर्षसम्म कैद भोगिरहेका कैदीहरूलाई कैद बापतको रकम र निवेदन दिए रिहा गर्न आदेश दिएको थियो । बाँके कारागारमा रहेका १० जनाले दिएको निवेदन उपर जिल्ला अदालतले चैत २६ गते रिहा गर्न नमिल्ने आदेश दिएपछि निवेदन दर्ता गराएको हो  ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि स्थानीय तहले युवा स्वयम् सेवक परिचालन गरको छ । माण्डवी गाँउपालिकाद्वारा प्रत्येक वडाको टोल टोलमा दुई जनाका दरले युवा स्वयम्सेवक परिचालन गरेको गाँउपालिका अध्यक्ष श्रीधर रोकाले बताउनु भयो । ८० जना युवाहरूलाई दैनिक खाजा स्वरुप १ सय रुपियाँ उपलब्ध गराइएको छ । लकडाउनको पूर्ण पालना गदै तेस्रो मुलक र भारत बाट आएका व्यक्तिहरूको स्वाथ्यको निगरानी गर्ने र गाँउपालिकालाई दैनिक जानकारी गराउँदै आएका छन् ।

उक्त गाँउपालिकामा ६ सय ४८ जना बाहिरी देशबाट आएको तथ्याङ्क रहेको छ । हाल ६ जना क्वारेण्टाइनमा रहेको गाँउपाकिाले जनाएको छ । गौमुखी गाँउपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका ९६ जना सबैलाई  होम क्वारेन्टाइमा बसेको र उनीहरूलाई स्वाथ्य मन्त्रालयले पठाएको फरम्याट अनुसार परिवारका सदस्यबाट टाढा हुने गरी होम क्वारेण्टाइनमा बस्ने सम्झौता गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा स्वाथ्यकर्मीहरूले नियमित जानकारी लिने गरेका छन् ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार लकडाउनका कारण सुत्केरी महिलाहरू पोषणयुक्त आहारामा समस्या भएको भन्दै तुलसीपुर उपमनपाले कुखुराको अण्डा वितरण गरेको छ । लकडाउनले पोषणयुक्त खानामा समस्या आउन सक्ने भन्दै मेयर घनश्याम पाण्डेले लकडाउन अवधिमा सुत्केरी हुने आमाहरूलाई एक/एक क्यारेट अण्डा घरमै पुगेर उपलब्ध गराउनु भएको हो । यस अवधिमा तुलसीपुर उमनपामा १४ जना सुत्केरी आमाहरू रहेका छन् ।

यसैगरी लमही नपाले नगरक्षेत्रमा क्लोरिन छर्केको छ । कोरोना लगायत विभिन्न रोगको सङ्क्रमण रोक्न नगरक्षेत्रमा किटनाशक औषधि छर्किएको मेयर कुलबहादुर केसीले जानकारी दिनुभयो ।

बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएका २० जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएपछि उनीहरूलाई थप सात दिन क्वारेण्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको छ ।

इन्सेक नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार लकडाउनका कारण विपन्न वर्गलाई खाद्यान्न अभाव देखिएपछि जिल्लाका स्थानीय तहहरूले पहिलो चरणको राहत वितरण सुरू गरेका छन् ।

बर्दघाट नपाले २ हजार परिवारलाई प्रति परिवार १० किलो चामल, दुई किलो दाल, एक किलो नुन र आधा लिटर तेल वितरण गरेको छ ।

यसैगरी रामग्राम नपाले २ हजार ३ सय विपन्न परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल र आधा किलो सोयावीन वितरण गरेको छ ।

सुनवल नपाले २ सय १ परिवारलाई दुई जनासम्म सदस्य भएको परिवारमा १२ किलो चामल, डेढ किलो दाल, एक लिटर तेल, एक किलो नुन, एक किलो चिनी, २ सय ग्राम सोयाविन र एउटा साबुन वितरण गरेको छ भने दुई जना भन्दा बढी सदस्य भएका परिवारलाई २५ किलो चामल, तीन किलो दाल, दुई लिटर तेल, दुई किलो नुन, दुई किलो चिनी, ४ सय ग्राम सोयाविन र दुई ओटा साबुन वितरण गरेको छ ।

यसैगरी सुस्ता गाउँपालिकाले १ हजार २ सय ५७ परिवारलाई पाँच किलो चामल, एक किलो दाल र एक लिटर तेल वितरण गरेको छ । प्रतापपुर गाउँपालिकाले २ सय २० परिवारलाई १५ किलो चामल, चार किलो दाल, एक किलो नुन, एक लिटर तेल, एक किलो नुन, एक किलो चिनी र एक किलो प्याज वितरण गरेको छ । सरावल गाउँपालिकाले १३ परिवारलाई १५ किलो चामल, पाँच किलो दाल, दुई किलो नुन, दुई लिटर तेल, दुई किलो चिनी र तीन ओटा  साबुन वितरण गरेको छ । पाल्हीनन्दन गाउँपालिकाले लगत सङ्कलन गरिरहेको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार विदेशबाट फर्किएर पाल्पाका विभिन्न क्वारेण्टाइनमा बस्दै आएका ४४ जनाको कोरोना सङ्क्रमण परीक्षण नेगेटिभ आएको छ । चैत १२ गतेदेखि क्वारेण्टाइनमा बसेका थिए । उनीहरूलाई थप एक हप्ता होम क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाइने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग, समन्वय, सहजिकरण र अनुगमन लगायतका कार्यहरू प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि गठित जिल्ला स्तरीय समितिको चैत २८ गते सम्पन्न बैठकले क्वारेण्टाइनमै पुगेर परीक्षण गर्ने निर्णय गरेको छ ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लाका विभिन्न ठाउँमा क्वारेण्टाइनमा बसेका व्यक्तिहरूको कोरोना भाइरसबाट सङ्क्रमित भए नभएको परीक्षण चैत २९ गतेबाट हुने भएको छ ।

परीक्षणका लागि आवश्यक पर्ने ४ सय किट चैत २८ गते आइपुगेको र परीक्षणका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिइ सकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

जिल्लामा हालसम्म २८ ओटा क्वारेण्टाइनमा ५ सय ७ बेड रहेको छ । क्वारेण्टाइनमा भारत र नेपालकै विभिन्न जिल्लाबाट घर फर्केका ३ सय ९२ जनालाई राखिएको छ ।

सबै गाँउपालिका र नगरपालिकाहरूले राहत वितरण गर्नका लागि लक्षित वर्गको तथ्याङ्क सङ्कलनलाई  तिव्रता दिएका छन् । बाँसगढी नपाले लकडाउनका कारण खाद्यान्न अभाव भएका ५ सय ६८ परिवारलाई  खाद्यान्न वितरण गरेको छ ।

बारबर्दिया नपाले नियमित औषधि सेवन गर्ने र औषधि लिन जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई  मध्यनजर गर्दै एम्बुलेन्समार्फत खरिद गरी दिने व्यवस्था मिलाएको छ । ६ सय १२ जनाको अभिलेख सङ्कलन गरेकोमा ४ सय ६२ जनालाई खाद्यान्न वितरण गरेको छ ।

ठाकुरबाबा नपाले पहिलो चरणमा ४ सय ८५ जनालाई मापदण्ड अनुसार राहत वितरण गरेको छ । बढैयाताल गाउँपालिकाले ६ सय १५ जनालाई राहत वितरणको गरेको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार पूर्व मन्त्री एवं गुल्मी क्षेत्र २ का सांसद गोकर्ण विष्टले जिल्ला पठाएका ३ सय थान पीपीई सबै स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरिएको छ । प्रदेश सभा सांसद दिनेश पन्थी, नेकपा जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको रोहवरमा सबै स्थानीय तहहरूलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

इस्मा गाउँपालिकाले क्वारेण्टाइनमा राखेका ११ जनालाई कोरोना नभएको पुष्टि भएपछि घर पठाएको छ ।

रेसुङा नपाले १ हजार ४ सय ९१ परिवार, मुसिकोट नपाले २ हजार ९७ घर परिवार, मदाने गाउँपालिकाले ७ सय ९६, धुर्कोट गाउँपालिकाल  ५ सय ८१, मालिका गाउँपालिकाले ५ सय ७१, गुल्मी दरवार गाउँपालिकाल ६ सय २६, छत्रकोट गाउँपालिकाल ७ सय ५० घर परिवारलाई राहत वितरण गरेका छन् ।

रुरु क्षेत्र, सत्यवति, इस्मा, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकाले राहत वितरण गरिरहेका छन् । जिल्लाका १० गाउँपालिका र दुई नगरपालिकामा चैत २८ गतेसम्म १ सय १५ स्थानमा १ हजार ८३ क्वारेण्टाइन शैया निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला प्रशासन कार्यालयले  क्वारेण्टाइन र आइसोलेशनको अनुगमन गरेको छ ।

जिल्ला बाट नौ जनाको स्वाब परीक्षण गरिएकोमा आठ जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको परीक्षण गर्न नपर्ने भन्दै फिर्ता पठाएको  जिल्ला अस्पतालका प्रमुख कपिल ज्ञवालीले बताउनु भयो ।

गरिब तथा विपन्न परिवारको पहिचान गरि स्थानीय तहले राहात वितरण गरिरहेको छ । जिल्लाका ६ ओटै स्थानीय तहले कोरोना राहत कोष स्थापना गरेका छन् ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमित भेट्टएिका छैनन् । जिल्लामा  ६ सय १४ जना क्वारेण्टाइनमा रहेका छन् । हालसम्म २ सय २७ जनालाई क्वारेण्टाइनबाट घर पठाइएको छ ।

बाणगङ्गा नपाले नगरका ११ वडाका १ हजार ९ सय ३५ अति विपन्न घर पविारलाई घर घरमा पुगेर राहत वितरण गर्न सुरू गरेको छ । नगरपालिका भित्र राहत पाउनेमा १ हजार ९ सय ३५ घर परिवारमध्ये पाँच जनाभन्दा माथिका ३ सय २६ घर परिवार र ५ जना भन्दा कम परिवार सङ्ख्या भएका  १ हजार ६ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ ।

भारतसँग जोडिएका सिमा नाकामा सुरक्षाकर्मीहरू थप गरी २४ घण्टा सुरक्षाकर्मी परिचालन गरेसँगै भारतबाट आउनेको सङ्ख्या शुन्य रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना भाइरसको रोकथामका लागि स्थानीय तहले अनेक उपायहरू अपनाउँदै आइरहेका छन् । रोल्पा नपाले  विपद व्यवस्थापनका  लागि १२ लाख ६० हजार रुपियाँको  कोष स्थापना गरेको छ । उक्त कोषमा व्यक्तिगत वा संस्थागत रूपमा विभिन्न व्यक्तिले सहयोग गर्दै आएका छन् ।

सहयोग गर्ने हरूमा कपिलवस्तुका श्यामलाल बञ्जाडेले १ लाख रुपियाँ, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्रीले १५ हजार रुपियाँ, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले ५ हजार रुपियाँ, रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्व कुमार चन्दले १५ हजार रुपियाँ, जलजला कन्स्ट्रक्सन प्रा.लिले ५० हजार रुपियाँ र नेपाल मोडर कन्स्ट्रक्सन प्रा.लि का इश्वर केसीले ५० हजार रुपियाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसका कारण प्रभावित भएको एसईई दिने विद्यार्थीहरूलाई लक्षित गरेर दूर शिक्षा कार्यक्रम सुरू गरिँदै छ । लकडाउनको अवधि थपिदै गएपछि सत्प्रयास समूहको आयोजनामा उक्त कक्षा सञ्चालन गर्न लागेको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयको कक्षा १५ दिनको प्याकेज बनाएर रोल्पाका ७ वटा एफएम रेडियो बाट प्रशारण गर्नुका साथै सत्प्रयास समूहको यूटुव च्यानलबाट समेत हेर्न सकिने अभियान्ता खेम बुढाले जानकारी दिनु भयो । कक्षा सञ्चालनका लागि शिक्षकहरूले सहयोग गर्ने छायाङ्कन र रेकर्डिङका लागि जिल्लामा टेलिभिजनका आवद्ध पत्रकारहरूले निशुल्क  सहयोग गर्ने तयारी रहेको छ । अबको दुई दिनभित्र प्रशारण गर्ने तयारीमा रहेको मुकेश कवरले बताउनु भयो ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार लकडाउनलाई कडाइ गर्नुका साथै क्वारेण्टाइनको  सङ्ख्यामा  विस्तार गरेको छ ।  चैत २८ गते ७ सय ४० रहेका शैया क्वारेण्टाइनमा हालसम्म ४ सय ९१ जना क्वारेण्टाइन रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले स्वाब परीक्षणका लागि पठाइएको ७० जनाको नमूना मध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी १७ जनाको रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो ।

चैत २६ गते वडा कार्यालयले मनपरी राहत वितरण गरेको भन्दै विवाद भएपछि नेपालगञ्ज उमनपा-४ का स्थानीयहरूले वडा कार्यालयमा ताला लगाएका थिए । यसैगरी चितवनबाट १२ दिनको पैदल यात्रा गरेर ६७ जना भारतीय नागरिकहरू चैत २७ गते बाँके आइपुगेका छन् । बाँकेको कुसुमसम्म आएका उनीहरूलाई नेपाल प्रहरीले कोहलपुर नपाको हवदारपुरमा टेण्ट लगाएर राखेको छ । भारत नानपाराका उनीहरू मजदुरीका लागि चितवन गएका थिए । लकडाउनका कारण सवारी साधन बन्द भएपछि हिडेर आएका थिए । यसैक्रममा एक जना महिलाले बाटोमै बच्चा समेत जन्माएकी छन् ।

इन्सेक रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार, स्थानीय तह, प्रशासन, प्रहरी लगायत जिल्ला स्थित सरोकारवाला निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध कार्य, सुरक्षा व्यवस्था गरिरहेका छन् ।

रुकुमेली बचत तथा ऋण सहकारी संस्था रुकुमकोटले जिल्लाका तीन ओटै स्थानीय तहलाई ३०/३० हजार रुपियाँ, प्रदेश र सङ्घीय सरकारलाई २५/२५ हजार रुपियाँ र जिल्ला स्थित दुई ओटा रेडियोलाई ५/५ हजार रुपियाँ गरी १ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । यसैगरी सिद्धार्थ बैंक पुथाउत्तरगङ्गा गाउँपालिका शाखाले पुथाउत्तरगङ्गा गाउँपालिकालाई ३० हजार रुपियाँ र प्रभु बैंक शाखा कार्यालय रुकुमकोटले सिस्ने गाउँपालिकालाई ५० हजार रुपियाँ सहयोग गरेका छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपियाँ  जम्मा भएको छ । हालसम्म उक्त कोषमा र्सवसाधारणले मोवाईल बैङ्किङमार्फत सबैभन्दा कम १ सय रुपियाँदेखि सबैभन्दा बढी २५ लाख ५०  हजार रुपियाँ सम्म जम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले २५ लाख ५० हजार रुपियाँ  जम्मा गरेको छ ।

त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख रुपियाँ, सिद्धार्थ बैङ्क, कुमारी बैङ्क, तिनाउ मिसन डेभलपमेन्ट बैङ्क र लक्ष्मी बैङ्कले १०/१० लाख रुपियाँ, सिटिजन बैङ्क ले ७ लाख रुपियाँ, कृषि विकास बैङ्क, गरिमा बैङ्क, मेगा बैङ्क र माछापुच्छ्रे बैङ्क, राष्ट्रिय बिमा संस्थानले ५/५ लाख रुपियाँ, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले ३ लाख ९६ हजार ९७ रुपियाँ  जम्मा गरेका छन् ।

यसैगरी गण्डकी विकास बैङ्क र निर्धन उत्थान बैङ्क ले ४/४ लाख रुपियाँ, क्रिमसन कलेजले २ लाख ५५ हजार रुपियाँ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिले २ लाख ५१ हजार रुपियाँ, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२ रुपियाँ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार रुपियाँ, सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २ लाख रुपियाँ, नेपाल भारत मैत्री समाजले २ लाख रुपियाँ, लक्ष्मी लघुवित्त सहकारीले २ लाख रुपियाँ, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय रुपियाँ, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार रुपियाँ, कैलाश विकास बैङ्कले १ लाख १ हजार रुपियाँ,  उद्योग व्यापार सङ्गठन रुपन्देहीले १ लाख १ हजार रुपियाँ, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार रुपियाँ उक्त कोषमा जमा गरेका छन् ।

बुटवल उमनपा-११ का शेरबहादुर गुरुङले १ लाख ५ हजार रुपियाँ, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीले १ लाख रुपियाँ, लीलामणि पौडेलले ५० हजार रुपियाँ र कृष्णबहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपियाँसहयोग प्राप्त भएको छ  ।

यसका साथै बुटवलको धागो कारखानामा रहेको आइसोलेशन विशेष अस्थायी अस्पतालमा आइसियुका लागि आवश्यक उपकरण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले दिने घोषण गरेको छ ।

नेपाल उद्योग सङ्घले प्रदेश ५ मा २० लाख रुपियाँ, एनआइसी एशिया बैङ्कले ५ लाख रुपियाँ  बाराबरको खाद्यान्न र एनएमबी बैङ्कले १ सय थान पीपीई प्रदान गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनु भयो ।

अन्य

भिडियो