विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ ( कोरोना भाइरस) रोकथामकालागि प्रदेश र स्थानीय तहले विभिन्न प्रयासहरु गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश ५ का जिल्लाहरुमा शङ्काष्पद बिरामीहरूलाई राख्न ३ सय २७ बेडको आइसोलेशन कक्ष तयार पारेको छ भने देश बाहिरबाट आएका र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई राख्न २ हजार ५ जना राख्ने क्षमताको क्वारेन्टाइन तयार पारेको छ ।
प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा कोराना भाइरस परीक्षणकालागि दाङ, रूपन्देही र बाँकेमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरे अनुसार प्रयोगशाला स्थापनाको काम अगाडि बढाएको छ ।
बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको जोखिम न्युनिकरणबाट बच्न चैत ५ गते बाट नेपाल भारत सिमामा सवारी साधनको आवाज जावत बन्द गरिएको थियो भने चैत १० गतेबाट जिल्ला प्रशासन कार्यालयले लक डाउन गरेको छ ।
नेपालगन्जको जमुना नाका , नेपालगन्ज यऐरपोर्ट , कोहलपुर वसपार्क र नरैनापुर गाउँपालिकामा रहेको सुइया नाकामा हेल्थ डेक्स स्थापना गरि ज्वरो भए नभएको चेक जाँच गरिदै आएको छ । शङ्काष्पद बिरामी राख्न नेपालगन्ज मेडिकल कलेजमा ६ बेड , भेरी अस्पतालमा ६ बेड कोहलपुर शिक्षण अस्पतालमा ६, लायन्स डेण्टल अस्पताल नेपालगञ्जमा ४० र खजुरा क्यान्सर अस्पतालमा ६ शैयाको आइसोलेसन बेड तयार गरिएको छ ।
बाँके जिल्लामा हालसम्म २३ जना शङ्काष्पद बिरामीहरू स्वाव परीक्षणको लागि पठाएकोमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । जिल्लामा पीपीइ अभाव रहेको छ । जिल्लाका आठ वटा स्थानीय तहमा ४ सय १५ क्षमता रहेको क्वारेन्टाइनको तयार पारिएको छ जसमा हाल १ सय ५८ जना व्यक्तिहरू रहेका छन् ।
रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार जिल्लामा १६ वटा स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेको छ । क्वारेन्टाइनमा दिनमा ४ पटके प्रोटोकल अनुसार खाना खुवाउने गरेको । परिवारका सदस्यहरुसँग फोन सम्पर्क गर्र्ने व्यवस्था, स्वस्थ्य पानी पिउने व्यवस्था र एक मिटर दुरी लगायतका कुराहरुलाई ध्यान दिएको छ ।
आइसोलेशनमा रहेका ३४ वर्षिय बाबुराम थापाको मृत्यु भएको र उनमा कोरोना सङ्क्रमण नभएको पुष्ट्रि भएको छ ।
प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोभिड–१९ परीक्षण प्रयोगशाला स्थापनाकालागि प्रक्रिया अगाडि बढाएको छ । उक्त प्रयोगशाला भैरहवास्थित गहँुबाली अनुसन्धान केन्द्रमा स्थापना गर्ने निर्णय गरिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार प्रयोगशालामा रियल टाइम पीसीआर मेसिन लगायत उपकरण जडान गरेपछि सञ्चालनमा ल्याइने छ ।
जिल्लाका १६ वटै स्थानीय तहले अति विपन्न परिवारको लगत सङ्कलन र खाद्यान्न बितरण सुरू गरेको छ ।
चैत १८ गते भारतबाट फर्केका ३ सय १० जना नेपाली नागरिक हरुलाई पुनः भारतमा फर्काइएको छ । उनीहरूलाई नौतुनहवा इन्टर कलेज राखिएको छ । यसैगरी नेपालबाट भारत फर्किदै गरेका १ सय ५० जनालाई बेलहियास्थित निमा प्रतिमा प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा लकडाउनको पूर्ण कार्यान्वयन भएको छ । अत्यावश्यक बाहेकका पसल र सवारी साधनहरू बन्द रहेका छन् ।जिल्लाका सबै स्थानीय तहहरूले गरिब तथा मजदुर परिवारहरूको लगत सङ्कलन गरि राहत बितरण गर्ने भनेपनि आधिकारिक बितरणको कार्य सुरु भएको छैन ।
तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले आफैले छुट्टै पीपीइ खरिद गरि बिरामी जाँच गर्ने कार्यलाई अगाडि बढाएका छन् । जिल्लाका सबै स्थानीय तहले क्वारेन्टाइनको स्थापना गरेका छन् । बिदेशबाट फर्केकाहरुलाई घरमा क्वारेन्टाइन बस्दाको अवस्थामा कुनै समस्या देखिएको वा नदेखिएको बिषयमा समेत स्वास्थ्यकर्मीहरू टोल टोलमा पुगेर जानकारी लिने गरेका छन् ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्बती आचार्यका अनुसार लक डाउनको नवौं दिनसम्म आई पुग्दा दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरूका लागि प्रत्येक गाउँपालिका बाट राहतकालागि लगत सङ्कलन गर्ने कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकार दृघनारायण पौडेलका अनुसार दैनिक मजदुरी गर्नेहरूको लगत जिल्ला प्रशासनमा आईपुगेको छैन । तर अत्ति बिपन्नहरूका लागि स्थानियतहले राहत बितरण गरेको छ ।
निजि अस्पतालहरूले बिरामीहरूलाई चेकजाँच नगरी सिकिस्त अवस्थाका बिरामी समेतलाई एम्बुलेन्स बाट झर्न समेत नदिई एम्बुलेन्समै रिफरको चिठ्ठी बनाएर प्रादेशिक अस्पत्ताल बुटवल पठाउने गरेका कारण बिरामीहरूले सास्ती खेप्नु परेको छ ।
भारतदेखि आउने नेपालीहरूलाई भारत सरकारले क्वारेनटाइनमा राख्ने र नेपाल देखि भारत जान खोज्नेहरुलाई नेपालको क्वारेनटाइनमा राखिने प्रजिअ पौडेलको बताउनु भयो । बिजयनगर गाउँपालिकामा ३ सय ९३ जना को घरमा रातो रङ्गको चिन्ह लगाएर होम क्वारेन्टाइनमा बस्न लगाइएको छ । यसैगरी बिदेशबाट आएका १० जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख गोपालबहादुर थापाले बताउनु भयो ।
नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्लामा कोरोना भाइरसको असर प्रत्यक्ष नदेखिएतापनि खुला सिमानाका कारण र भारतबाट फर्कनेहरूका कारण जोखिम रहेको छ ।
जिल्लामा ८० जना क्वारेन्टाइनमा रहेका छन् भने सिमानामा रहेका चार वटा हेल्थ डेक्सहरू र बर्दघाट नपामा एक गरी पाँच वटा हेल्थ डेस्कहरू भएपनि साधन स्रोत र पुर्वाधारका हिसाबले सुधार गर्नुपर्ने देखिन्छ । स्थानिय तहले दैनिक ज्यालाका भरमा जीवन निर्वाह गर्दै आएका परिवारको लगत सङ्कलन गर्न सुरू गरेका छन् । जिल्लाका सबै स्थानीय तहहरूमा साबुन पानी, सेनेटाइजर , मास्कलगायत सबैको उपलब्धता सुनिश्चित गरिएको छ ।
रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार कोरोना भाइरस रोकथामकालागि जिल्लाका सरोकारवाला निकायले सक्रिय रूपमा लागेका छन् । जिल्लामा नेपाल बाहिरबाट १ सय ६ जना रहेका छन् । बिदेशबाट आएका ३४ जनालाई सिस्ने गाउँपालिका स्थित रुक्मणी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ७० जनालाई स्वास्थ्य अवस्था चेकजाँच गरी औषधि दिएर नजिकका स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएका छन् । तीनवटै स्थानीय तहले सिमा नाकामा हेल्थ डेस्क राखेर चेकजाँचको व्यवस्था मिलाएको छ ।
तीन स्थानमा ४५ जना क्षमता रहेको तयार गरिएको छ । क्वारेन्टाइनमा राखिका व्यक्तिका लागि सम्बन्धीत गाउँपालिकाले आधारभूत मापदण्ड बमोजिम खाने, बस्ने, शौचालय, खानेपानी तथा व्यक्तिगत सरसफाईका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ साथै फ्रि वाइफाइ समेतको सुविधा दिएको छ । स्वास्थ्यकर्मीकालागि पीपीई लगायत उपचारमा आवस्यक सामाग्री प्रयाप्त मात्रामा नभएको स्वास्थ्यकर्मीले जनाएका छन् । हाल सम्म जिल्लामा ६ बेडको आइसोलेसन कक्ष बनाइएको छ भने शङ्काष्पद बिरामी फेला परेका छैनन् ।
रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना भाइरसको सङ्क्रमण हुन नदिन विभिन्न ठाउँमा हेल्थडेक्स स्थापना गरि स्वास्थ्य जाँच गरिदै आएको छ भने हालसम्म एक जनालाई आइसोलेसनमा राखिएको छ । जिल्लामा ४३ जनालाई क्वारेन्टाइनमा ९० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय तहले कोरोना सङ्क्रमणबाट बच्न सूचना प्रशारण गर्नुका साथै विदेशबाट भित्रिएका व्यक्तिहरूको विवरण सङ्कलन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । सबै स्थानीय तहमा गरी ७० बेडको आइसोलेशन कक्ष तयार गरिएको छ । हालसम्म १ सय ३९ जना विदेशबाबट आएको विवरण स्थानीय तहले तयार पारेका छन् ।
प्यूठान जिल्ला प्रतिनिधि रवीन्द्र पाण्डेका अनुसार जिल्लामा १२ वटा स्थानमा १ सय ३६ जना क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्ला अस्पताल विजवारमा चार वेडको आइसोलेशन कक्ष तयार गरिएको छ । हाल सम्म २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा चैत १९ गते सम्म विदेबाट आएका ३ हजार जनाको विवरण सङ्कलन गरिएको र अझै सङ्कलन गर्न बाँकी रहेको छ ।
बर्दिया जिल्ला प्रतिनिधि मानहादुर चौधरीका अनुसार जिल्लामा स्थानीय स्थानीय तहले १५ स्थानमा २ सय ६९ बेड क्षमताको क्वारेन्टाइन तयार गरेको छ । भारतबाट आएका १ सय ६४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा २९ वटा बेडको आइसोलेशन कक्ष तयार गरिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीइ १२ थान मात्र छ ।
लक डाउन भए पछि जिल्लाका दैनिक मजदुरी गरी खाने व्यक्तिका परिवारलाई खाद्यान्न खरिद गर्न रकम अभाव देखिएको छ । नियमित औषधि सेवन गर्ने दिर्घ रोगीहरुलाई जिल्लामा औषधि नपाउने भएका कारण समस्यामा परेका छन् । कृषकहरूको उत्पादन बजारमा लैजान समस्या रहेको र बजारमा तरकारी लगायतका बस्तुको अभावले बढि मुल्य तिरेर खरिद गर्नु पर्ने अवस्था आएको छ ।
दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लामा १४ स्थानमा २ सय ७ वेडको क्षमता रहेको क्वारेन्टाइन निर्माण गरिएको छ । हाल क्वारेन्टाइनमा २१ जना राखिएका छन् ।
क्वारेन्टाइन खान, बस्न, हात धुने सावुन, ब्रस, मञ्जनलगायत सरसफाईका सुविधा रहेका छन् । क्वारेन्टाइनमा बस्न नमान्ने भएका कारण विदेशबाट आएकाहरु होम क्वारेन्टाइनमा रहेका छन ।
प्रदेश सरकारको तर्फबाट १ सय बेड र स्थानीय तह, नेपाली सेना र निजि अस्पताल गरी ६६ बेड गरी जम्मा १ सय ६६ बेडको आइसोलेशन कक्ष तयार गरिएको छ । शङ्काष्पद ११ जनालाई आइसोलेशनमा राखिएको छ ।
कोभिड–१९ परीक्षणकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याव राख्ने तयारी भइरहेको छ । लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने वर्गमा समस्या भएको गुनासो आएपछि स्थानीय तहले लगत सङ्कलन गरीरहेको छ ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लाका १२ वटा स्थानीय तहले ४ सय १ वेड क्षमता भएको क्वारेन्टाइन बनाएका छन् । हालसम्म ३७ जना क्वाारेन्टाइनमा छन् । स्थानीय तहले क्वारेन्टाइन ढिला बनाएका सिमा नाका व्यवस्थित नभएका कारण अधिकांश भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरू घर पुगेकाले क्वारेन्टाइनमा आउन मानेका छैनन् ।
जिल्लामा सात वेडको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कोरोनाको लक्षण देखिएका तीन जनालाई बाहिर रेफर गरिएकोमा कोराना पुष्ट्रि नभएपछि घर फर्किएका छन् ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लामा लकडाउनको पुर्ण कार्यन्वयन भएको छ । लकडाउन उल्ङ्घन गर्ने २० जना सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले बताउनु भयो । जिल्लाका ६ वटा स्थानीय तहमा ४ सय ४४ जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।
जिल्लामा ३० जना क्वारेन्टाइन र करिब १९ सय जना होम क्वारेन्टाइनमा बसेका छन् । ५२ बेडको क्षमता रहेको आइसोलेशन कक्षमा ४ जनालाई राखिएको छ ।
कैलाली जिल्लाको धनगढीमा भेट्टिएका कोरोना सङ्मितसँग बिदेशबाट आएका चार जनालाई मध्ये एक जनालाई प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने अन्य तीन जानालाई सन्धिखर्कस्थित क्वारेन्टाइनना राखिएको छ । अर्घाखाँची जिल्ला अस्पतालबाट सिफारिस भइ प्रादेशिक अस्पताल बुटवल रिफर गरिएका नौ जना मध्ये सात जनाको कोरोना भाइरस नेगेटिभ देखिएको जिल्ला अस्पताले जनाएको छ । चैत १८ गते भारतबाट आएर २ सय ६५ जनालाई उद्धार गरि ल्याइएको छ । यसैगरी मालारनी गाउँपालिकाले ३ लाख रूपिँया कोरोना कोषको स्थापना गरेको छ । सुनौली नाकामा अलपत्र परेका ३ सय १० जना नेपालीलाई जिल्लामा ल्याउन पहल भइरहेको छ ।