INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा अलपत्र परिवारलाई राहत प्रदान

जनकपुरधाम उमनपा–८ बाह्र विगहामा अलपत्र अवस्थामा रहेका नौँ परिवालाई इन्सेक धनुषा जिल्ला प्रतिनिधिको पहलमा चैत १७ गते खाद्यान्न र लत्ताकपडा राहत प्रदान गरिएको छ ।

photo20200330dhnausha

इन्सेक प्रतिनिधिको पहलमा महिला अधिकारकर्मी रोजलिन सिंह बछार, असहाय संरक्षण मञ्चका जनकपुरका अध्यक्ष वैद्यनाथ साह र समाजसेवी धर्मेन्द्र साहले राहत दिनुभएको हो ।

महिला अधिकारकर्मी तथा ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारको तर्फबाट उहाँका श्रीमान शरद सिंह बछारले बच्चाहरुका लागि ५० थान कपडा सेट र २० किलो पिठो राहत प्रदान गर्नुभएको छ । समाजसेवीद्वय साहको तर्फबाट चामल, आलु, प्याज, खान पकाउन दाउरा, मास्क, तेल, सावुन र १५ सेट कपडा राहत प्रदान गर्नुभएको छ । ओरेक नेपालका संयोजक बछारले इन्सेक धनुषा जिल्ला प्रतिनिधीलाई पहल गरि सेवा गर्न मौका दिनु भएकोमा आभार प्रकट गर्नु भएको छ ।

राहत वितरणमा जिल्ला प्रहरी कार्यालय धनुषाका सञ्चार शाखाका प्रहरीहरु, बाल अधिकारकर्मी अभियन्ता आशुतोष झालगायतका अभियानीहरुको सहभागिता रहेको थियो ।

बाह्र विगहामा अलपत्र अवस्थामा भारतको महाराष्ट्रका नौँ परिवारका ४० जना सामान्य प्लाष्टिकको त्रिपालमुनि बस्दै गुजारा गर्दै आउनु भएको छ । माटोको प्लेट, कप र गिलासको व्यापार गर्दै मागेर जीवन यापन गर्दै आएका नौँ परिवारलाई लकडाउनले गर्दा सामान्य व्यापार समेत बन्द भएपछि खाद्यान्न अभावमा बाँच्न मुस्किल भएको थियो ।

अन्य

भिडियो