INSEC Online

📅 २०८३ जेष्ठ २३

गौर घटनाका १३ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार

रौतहटको गौरमा २७ जनाको मृत्यु र ५२ जना घाइते भएको घटनाका पीडित तथा पीडितका परिवारले घटना भएको १३ वर्ष पूरा हुँदासमेत न्याय पाउन सकेका छैनन् ।

गौर नगरपालिका–५ स्थित राइस मिलको चौरमा ०६३ चैत ७ गते मधेसी जनअधिकार फोरम र माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाको आमसभाका क्रममा झडप हुँदा मधेसी जनअधिकार फोरमका समर्थकले माओवादीका कार्यकर्तालाई कुटपिट गर्दा ५ जना महिलासहित २७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा रौतहट पोठियाही गाविसका वाइसिएल इलाका संयोजक रामाकान्त जयसवाल, सरमुजवा गाविसका एसिएम नर्र्मधेश्वर उपाध्याय, चन्द्रनिगाहपुर गाविस–१ की २० वर्षीया सरस्वती उपे्रतीलगायतका थिए ।

आमसभास्थलमा ६, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजममिनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा दुई, लक्ष्मीपुर बेलविछुवा गाविसमा दुई जना गरी जम्मा २१ ओटा लास फेला परेका थिए । उपचारको क्रममा गौर अस्पतालमा चार र भरतपुर लैजाँदै गर्दा बाटोमा दुई गरी जम्मा २७ जनाको मृत्यु भएको थियो ।

गौर नगरपालिका–९ बरेवा चोकमा ११–१२ जनालाई मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले कुटपिट गरी एकै ठाउँमा जम्मा पारेर मट्टीतेल खन्याई सलाई खोज्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै उद्धार गरेको थियो ।

घटनामा संलग्न व्यक्ति अहिलेसम्म नै कारबाहीको दायरामा नआउँदा मानव अधिकार समुदाय र पीडित तथा पीडितका आफन्तले सरकारप्रति औँला तेस्र्याएका छन् ।

घटना भएको १३ वर्ष पूरा हुँदासमेत पनि पीडितले न्याय नपाउँदा दण्डहीनता कायमै रहेको भनी मानव अधिकारकर्मीहरूले विभिन्न मञ्चबाट सरकार तथा अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।

उक्त घटनाका सम्बन्धमा मानव अधिकार सन्धि अनुगमन समन्वय समिति (एचआरटीएमसीसी)को सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्थलगत अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदन यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

अन्य

भिडियो