INSEC Online

📅 २०८३ जेष्ठ २१

मास्क अभावमा हेल्थ डेस्कका स्वस्थ्यकर्मी मास्क विना चेकजाँच गर्न बाध्य

भारतसँग सीमा जोडिएका क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) को चेकजाँचको लागि खटिएका स्वास्थ्यकर्मी मास्क विनै चेकजाँच गर्न बाध्य छन् ।

कोरोनाबाट जोगिन मास्क अनिवार्य भनिएता पनि सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी मास्क नहुँदा असुरक्षित रूपमा चेकजाँच गर्न बाध्य भएका हुन् ।

छिमेकी देश भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ । तर, भारतसँग सीमा जोडिएका क्षेत्रका हेल्थ डेस्कमा कार्यरत कर्मचारी मास्क अभावमा विना मास्क चेकजाँचमा खटिएका छन् ।

सदरमुकाम खलंगास्थित पुल घाटमा चार जना स्वास्थ्यकर्मी विना मास्क नै सीमा वारपार गर्नेहरूको चेकजाँच गर्न बाध्य छन् ।

‘जिल्लामा मास्क छैन् । अहिले सीमाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई थर्मामिटर, ग्लोब्स, विपिसेट मात्र उपलब्ध गराइएको छ । ६ घण्टा ड्युटी गर्नु परेको छ । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको कारण सुरक्षित महशुस गरेकाछौँ ।’ स्वास्थ्यकर्मी जसु लुहारले भन्नु भयो ।

महाकाली नगरपालिका स्वास्थ्य सह संयोजक लालजीरा भट्ट स्टोरमै डिस्पोजल मास्क अभाव रहेको स्विकार गर्नु हुन्छ ।

उहाँले भन्नु भयो – ‘सबै ठाउँमा डिस्पोजल मास्क अभाव छ ।  हेल्थ डेस्कमा बस्नेहरूको लागि लुगाकै मास्क भएपनि मास्क खरिद गरेर पठाएकाछौँ । पुल घाटस्थित हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीका लागि पनि लुगाको मास्क भए पनि उपलब्ध गराउछौँ ।’

जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जिल्ला अस्पतालसँगै मास्कको अभाव रहेको बताउँदै हाल जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले हरियो पोसाकको लुगाको मास्क प्रयोग गर्दै आइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘नियमित अस्पतालमा आउने मास्क भन्दा लुगाको मास्क बढि सुरक्षित हुन्छ । तर, लागत बढि छ । मास्क अभावका कारण स्वास्थ्यकर्मीलाई हरियो लुगाको मास्क बनाएर प्रयोग गर्न लगाएकाछौँ । ’

कोभिड–१९का बारेमा उच्च सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका दार्चुलाका पाँच ओटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । औपचारिक रूपमा नेपाल भारत झोलुंगे पुल निर्माण भएका क्षेत्र क्रमसः  महाकाली नगरपालिका –४ पुल घाट र वडा नम्बर ९ दत्तु , लेकम गाउँपालिका– ३ लाली, मालिकार्जुन गाउँपालिका –६ जौलजीवि, र व्यास गाउँपालिका – ५ तिगरममा हेल्थ डेस्क स्थापना गरिएका छन् ।

विश्वव्यापी रूपमा फैलिदै गएको कोरोना भाइरसको बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले सीमा पुलमै हेल्थ डेस्क सञ्चालनमा ल्याइएको लेकम स्वास्थ्य चौकीका संयोजक हरिदत्त जोशीले बताउनु भयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कोराना भाइरस (कोभिड १९)को जोखिम कम गर्न जिल्लास्थित सबै कार्यालय परिसरमा साबुन पानीको व्यवस्थान गर्न र सतर्कता अपनाउनका लागि जिल्लास्थित सम्पुर्ण सरोकारवलाहरूले सरसफइ लगायत सचेतना फैलान सहयोग गर्न आवश्यक भएको बताउनु भयो ।

photo20200320darchula

अन्य

भिडियो