बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनु भएको छ ।
विशेष र शुन्य समयमा उठेका प्रश्नहरूको प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले सङ्क्रमण हुन नदिन सचेतनाका लागि प्रदेशका विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरिएको बताउनु भयो । कोरोनाको सङ्क्रमण फैलन नदिन जनशक्ति समेत तयारी अवस्थामा रहेको मुख्यमन्त्रीले बताउनु भयो ।
प्रदेशभरीका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मुख्यमन्त्री पौडेलको भनाई छ । सशस्त्र प्रहरी बलसँगको समन्वयमा ४० शैयाको आईसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो ।
यसैबीच बागमती प्रदेशको सिन्धुली जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित भएको आशङ्कामा एकजनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।
सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेले बताउनु भयो । ज्वरो अत्यधिक आएपछि अस्पतालमा ल्याईएका कमलामाइ नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना गरिएको हो ।
कोरोना भाइरस हुन सक्ने आशङ्काले उहाँलाई छुट्टै उपचार सुरु गरिएको सिन्धुली अस्पतालका डा. अभिशेष भण्डारीले बताउनु भयो । यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेन्टको व्यवस्था गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने एप्रोन (पिपिए) नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।