नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदाको फागुन २५ गते धनुषाको मिथिला विहारी नगरपालिका बस्ने गौरी सदाका २१ वर्षीय छोरा सुशील सदासँग तय भएको विवाह दाइजोमा मोटरसाइकल नदिएको भनि रोकिएको घटनाको मानवअधिकारकर्मीहरु संयुक्त टोलीले चैत २ गते घटना बारे जानकारी लिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मनमाया थापा मगर, मानव अधिकार अधिकृत रेखा दत, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, महिला पुर्नस्थापना केन्द्र (ओरेक) धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछार र महिला मानवअधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झा लगायतको टोलीले पीडित र आरोपितको घरमा पुगेर घटनाबारे जानकारी लिएका हुन् ।

दाइजोमा २ आना सुन र मोटरसाइकल नदिएको भन्दै विवाह गर्न केटा पक्ष नआएपछि विवाहको लागि तयार गरिएको टेन्ट, विवाह मण्डप, भोजभतेर लगायतको विवाह सामाग्री खरिदमा ३ लाख रुपियाँ खर्च भएको पीडित बेचनी देवी सदाले टोलीलाई बताउनु भएको छ । पीडित केटी पक्षको आर्थिक अवस्था कमजोर भएपनि छोरीको विवाहको लागि ५ प्रतिशत सैकडा दरमा ३ लाख रुपियाँ ऋण लिएर छोरीको विवाह गर्न लागेको उहाँले जानकारी दिनु भयो ।

टोलीले फागुन २८ गते पीडितको घर पुगेर स्थलगत जानकारी लिँदै नगराइन नगरपालिकाका उपमेयर रञ्जु साहलाई दाइजोमा मोटरसाइकल नदिएको निहुँमा लाखौँ रकम विवाह उत्सवमा खर्च गराएर विवाह गर्न नआएकाले विना दाइजोको आदर्श विवाह गराउन पहल गरिदिनु हुन आग्रह गरेको छ ।
चैत २ गते मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादव, उपमेयर अनिता साह, वडा नं. १ भुतहीका अध्यक्ष प्रमोद मण्डल लगायत सरोकारवालासँग अधिकारकर्मीहरुले छलफल गर्दै घटना बारे ध्यानाकर्षण गराएका छन् ।

टोलीले केटा पक्षका वुवा गौरी मण्डलसँग समेत घटनाबारे जानकारी लिँदै विवाहमा दाइजो माग गरेको खण्डमा कानुनी रुपमा दण्डिनीय रहेको जानकारी गराएका छन् । दाइजोमा मोटरसाइकल नदिएको भन्दै जन्ती लिएर नगएको घटनाबारेमा दुबै पक्षलाई बोलाएर छलफल गर्ने मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले टोलीसँगको छलफलमा बताउनु भयो ।