INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन पारित

तातोपानी गाउँपालिकाले छैठौँ गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ ।

आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्नु गाउँपालिकाको प्रमुख जिम्मेवारी भएकाले व्यवस्थापनमा स्पष्ट कानुनी व्यवस्था गरी कार्यसम्पादन गर्नको लागि फागुन ३० गते ऐन पारित गरिएको हो ।

नेपालको संबिधान २०७२ को धारा २२१ अनुसार अनुसूची ८ को उपसूची ९ र १० को अधिकारलाई र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २३ (झ) र उपदफा ४ को ‘ख’ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न ऐन तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

पारित ऐनको आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सेवा, सरुवा रोग सम्वन्धी सेवा, नसर्ने रोग तथा शारीरिक विकलाङ्गतासम्वन्धि सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा रहेको छ । त्यसैगरी विशेषज्ञ सेवा अन्तरगत रोगको प्रकोप र सेवाको प्रकृतिका आधारमा तातोपानी गाउँपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा, घुम्ती सेवाको ऐनमा व्यवस्थापन गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो ।

गाउँपालिका पारित गरेको ऐनमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड बनाएको छ । गाउँपालिका आफैले तोकिएको मापदण्डमा १५ शैयासम्म क्षमताको अस्पताल सञ्चालन गर्नसक्ने छ । अस्पताल सञ्चालन नियमावली तर्जुमा गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ संयोजक चौलागाईले बताउनुभयो ।

Photo20200316Jumla

निजी अस्पताल सञ्चालनमा अनुमति दिने
गाउँपालिका क्षेत्रभित्र निजी क्षेत्र तथा ट्रष्ट वा लोककल्याणकारी संस्थाद्वारा अस्पताल सञ्चालन गर्न चाहेमा १५ शैया क्षमताको सञ्चालन अनुमति गाउँपालिकाले दिन सक्ने पारित ऐनमा व्यवस्था गरेको छ ।

अस्पताल सञ्चालन जनशक्तिको हकमा गाउँपालिकाले कम्तीमा दुई जना एमबीबीएस डाक्टर, चार जना स्टाफ नर्स, एक जना ल्याव टेक्निसियन, चार जना स्वास्थ्य सहायक, चार जना अहेव, चार जना अनमी र आवश्यक मात्रमा सहयोगी कर्मचारीको मापदण्ड तोकिएको ऐनमा उल्लेख छ ।

दर्ता चलानी, बहिरङ्ग सेवा, इमरजेन्सी कक्ष, प्रयोगशाला, भर्ना भएका बिरामी राख्ने क्याविन, प्रशासन कक्ष, पार्किङ, प्रयाप्त जमिनसहित भौतिक संरचना हुनुपर्ने व्यवस्था ऐनमा रहेको जनाएको छ ।

त्यसैगरी पोलिक्लिनिक सञ्चालन अनुमति, प्रयोगशाला वा ल्याबोरेटोरी, फार्मेसी सञ्चालन अनुमति दिने पनि गाउँपालिकाले स्वास्थ्य तथा सरसफाई ऐनमा व्यवस्था गरेको छ ।

स्वास्थ्य अभियानकर्ता नियुक्त गर्ने
स्वास्थ्य सेवालाई घरघरको पहूँचमा पु¥याउन र जनचेतना जोगाउन गाउँपालिकाले पुरुष स्वास्थ्य अभियानकर्ता र महिला स्वास्थ्य स्वयसेविका नियूक्त गर्ने ऐनमा व्यवस्था गरेको छ । स्वयंसेविका र अभियानकर्ता नियुक्तिका लागि २१ देखि ४० वर्ष उमेर ननाघेका, न्यूनतम् कक्षा आठ अध्ययन गरेको र सम्वन्धित वडाका विवाहित नागरिक हुनुपर्ने मापदण्ड तोकिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो । वडामा १ सय ५० जनसङ्ख्याको लागि एक जना महिला स्वयंसेविका र ५ सय जना जनसङ्ख्याका लागि एक जना पुरुष स्वास्थ्य अभियानकर्ता नियुक्तिका लागि वडा समितिले गाउँपालिका समक्ष सिफारिस गर्नसक्ने ऐनमा व्यवस्था गरिएको छ ।

गाउँ सभाबाट पारित भएको स्वास्थ्य तथा सरसफाई ऐनमा घर निर्माण गर्दा शौचालय, फोहोर व्यवस्थापन गर्ने विधि, घरेलु फोहोर विर्सजन गर्ने स्थानको अनिवार्य व्यवस्था भएको हुनुपर्ने उल्लेख गरेको छ ।

प्रत्येक स्वास्थ्य संस्थाले तोकेको मापदण्ड बमोजिम जोखिमरहित र जोखिमयुक्त फोहोर छुट्याएर व्यवस्थापन गर्ने कर्तव्य हुनेछ । प्लाष्टिकजन्य झोला तथा बस्तुलाई निरुत्साहित गर्ने लगायतको ऐनमा व्यवस्था गरिएको छ ।

 

अन्य

भिडियो