पाँच जना बालिकालाई बलात्कार र मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा थुनामा रहेका चारजना आरोपित मध्ये तीन जनालाई नुवाकोट जिल्ला अदालतले एक/एक वर्ष कैद र जनही १५ हजार रुपिँया जरिवानाको फैसला गरेको छ । एक जनाले भने सफाई पाएको अदालतले जनाएको छ ।
न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले फागुन २९ गते भेरिगङ्गा नगरपालिका–१२ का १७ वर्षीय बालकलाई सफाई दिएको छ भने विदुर नगरपालिका–४ का ३२ वर्षिय बादलमान श्रेष्ठ, विदुर नगरपालिका–२ का २४ वर्षिय रविन थापा र लिखु गाउँपालिका–४ का २४ वर्षिय विकास प्याकुरेललाई कैद र जरिवाना फैसला गरेको हो ।
लिखु गाउँपालिका–४ का १३ वर्षीया दुईजना, १५ वर्षीया एकजना र १६ वर्षीया दुई जना बालिकालाई ०७५ कात्तिक २१ गते विदुर नगरपालिका–२ को होटेलमा राखेर बलात्कार गरी कात्तिक २२ गते बेचविखनको लागि सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ छिन्चु पु र्याएको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले कात्तिक २५ गते उजुरी दर्ता गराउनु भएको थियो ।
प्रहरीले आरोपितहरूलाई मौखिक उजुरीको आधारमा कात्तिक २४ गते नै गिरफ्तारल गरेको थियो । पीडितहरूको त्रिशूली जिल्ला अस्पतालमा कात्तिक २५ गते स्वास्थ्य परीक्षण गरिएको थियो । पीडितहरूलाई सुर्खेत भेरिगङ्गा–१२ का निर्मल विकको घरबाट प्रहरीले कात्तिक २४ गते उद्दार गरेको थियो ।
बलत्कार तथा मानव बेचविखन तथा ओसारपसारमा दोषी ठहर गरी कारवाहीको माग गर्दै अदालतमा ०७६ मङ्सिर १८ गते मुद्दा दर्ता भए पनि जिल्ला अदालतले अभियोगमा आङ्शिक दाबी पुग्ने भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को १ र २ अनुसार बाल यौन दुरुपयोगको कसुरमा मात्र दोषी ठहर गर्दै फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ । माग अनुसारको फैसला नभएकोले फैसलाको पूर्णपाठ आएपछि उच्च अदालत जाने योजना रहेको जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले बताउनुभयो ।